
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरीमै उत्कृष्ट १०औं नम्बर भित्र पर्न सफल भएकाे छ ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/०७९ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको हो । जस अनुसार बैतडी १० औं नम्बरमा पर्न सफल भएको हो । दुई वर्ष अगाडि बैतडी १२ औं नम्बरसम्म परेको थियो ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले साेही कार्यालय पहिलो पटक उत्कृष्ट १०औं नम्बरमा पर्न सफल भएको बताउनुभयो । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद जाेखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट १०औं नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
साेही कार्यालय उत्कृष्ट १०औं नम्बरमा परेपछि उहाँले जिल्ला सुरक्षा समिति परिवार, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्लास्थित सरकारी कार्यालयहरू, स्थानीय तहहरू, राजनीतिक दलहरू, गैरसरकारी संघ संस्था र सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद समेत दिनुभएकाे छ ।
कार्यसम्पादन मूल्यांकनमा गुल्मी देशभरीको पहिलो नम्बरमा रहेको छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १०औं नम्बरमा पर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्