१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताइवानमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको छ : परराष्ट्र मन्त्रालय


1.118k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको हो ।

उहाँले नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुबै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।

चिनिया विदेशमन्त्री वाङ यीको मैंत्रीपूर्ण नियन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु पनि तय भईरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरु सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।