
काठमाडौं । कोभिड–१९ को संक्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ जाने बाह्य पर्यटक बढेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ मा मनाङ जाने बाह्य पर्यटक वृद्धि भएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ७४९ पुरुष र २ हजार २७० महिला गरी कूल ७ हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्षको कात्तिक, चैत र बैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्यांक संकलन गरिएको प्रमुख गौतमले बताउनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ को साउनमा दुई, भदौमा २०, असोजमा ३२२, कात्तिकमा एक हजार १५, मंसिरमा ३६६, पुसमा ८६, माघमा ५१, फागुनमा ५२८, चैत्रमा दुई हजार ४७, बैशाखमा एक हजार ९३६, जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ मा कोभिड–१९ को संक्रमणका कारण मनाङमा कूल ६०३ बाह्य पर्यटक भित्रिएकामा सबैभन्दा धेरै सार्क राष्ट्रका थिए । केन्द्रका अनुसार अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्ने छन् ।
पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्लाबाट मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन् । उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित पैदल यात्राको सुरुवात गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्