
काठमाडौं । बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकाहरूको स्वास्थ्य समस्याबारे समयमै परामर्श, उचित हेरचाह पाएमा उनीहरू नयाँ–नयाँ काममा उत्प्रेरित हुने गरेका छन् ।
शिक्षा, स्वास्थ्य र पुनर्स्थापना गर्न सके उनीहरूमा शारीरिक, मानसिक विकास हुन सक्ने उदाहरण धेरै छन् । यिनै बालबालिकाको सीपबाट बनेका हस्तकला सामग्रीको बिक्री कक्षले उनीहरूको प्रतिभा प्रमाणित गर्छ ।
१८ महिनादेखि ३ वर्ष उमेर समूहका बालबालिकामा यो रोगको लक्षण देखिन्छ । नेपालमा यो रोगी संख्या ३ लाखको हाराहारीमा छ । सामाजिक त्रासका कारण परिवारको कुनै सदस्य अटिजमबाट ग्रसित भए घरभित्रै लुकाउने बाध्यताले रोगी झन् मारमा परेका छन् ।
उचित व्यवस्थापन गर्न नसक्दा यस्ता रोग लागेका बालबालिका सिक्रीमा बाँधेर वा घरभित्रै थुनेर राख्नुपर्ने अवस्था छ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले प्रयास त गरे पनि पर्याप्त नभएको विशेष स्कुल पुनस्र्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेती बताउनुहुन्छ ।
कुनै परिवारमा जन्म लिनु अनि यो रोग देखा पर्नु न बालकालिकाको न त अभिभावकको नै दोष हो ।
अरु बालबालिका सरह मानसिक र बौद्धिक विकास नभए पनि साथीभाइसँग घुलमिल गर्नु, शारीरिक व्यायाम आवश्यक मात्र नभई समाजमा जनचेतना अभिवृद्धिका लागि खोलिएको यस पुनर्स्थापना केन्द्रमा ३ देखि १५ वर्ष सम्मका रहेका छन् ।
सरकारी सहयोगविना दाताहरूको मनकारी हातका साथ अघि बढेको यो केन्द्रमा स्थान अभावका कारण यस पुनर्स्थापना केन्द्रमा आउन चाहने अटिजमका बालबालिकालाई ल्याउन सकिएको छैन ।
२०६८ सालमा सञ्चालनमा ल्याइएको यस संस्थामा ११ वर्षको अवधिमा ३ सय बढीले सेवा पाइसकेका छन् । पुनर्स्थापना केन्द्रमा सात वर्षसम्म शिक्षा लिई अभिभावक र समाजमा स्थापित अलिसा न्यौपानेले संयुक्त अरब इमिरेट्स युएईमा अटिजम भएकाहरूको स्पेशल ओलम्पिकमा लङजम्पमा काश्य पदक जित्न सम्म सफल हुनुभयो ।
त्यतिमात्र कहाँ हो र ? उनीहरूले बनाएका हस्तकलाको आकर्षण नै अर्को छ । देशमा विभिन्न परोपकारी संस्थाहरू खुलेको विषय नौलो होइन, यद्यपि संवेदनशील र जोखिम रोगको पुनर्स्थापनामा सरकारी पहल आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्