
सिन्धुली । वातावरणीय प्रभावको असरले तराई क्षेत्रमा हुने गर्मी पछिल्लो समयमा सिन्धुली लगाएतका भित्री तराईका जिल्लाहरुमा समेत गर्मी बढेपछि सर्पदंशको उच्च जोखिममा सिन्धुली परेको छ ।
सिन्धुलीमा वर्षायामको समयमा गोमन, करेत जस्ता विषालु सर्पहरुको विगविगी बढ्दा सर्पदंशको उपचारमा समस्या आउन थालेको छ । चुरे भावर क्षेत्रले लामो क्षेत्र ओगटेको जिल्लामा साना विषालु सर्पहरुदेखि राज गोमन र बैरी करेत जस्ता खतरनाक सर्पहरु देखिदै आएका छन् । केही वर्ष यता सिन्धुली जिल्लाको कमलाखोच लगएतका क्षेत्रमा सर्पदंशबाट वर्षेनी मानिसहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् ।
पछिल्लो एक तथ्यांकका अनुसार विगत २० वर्षमा सिन्धुलीमा १२ जनाको सर्पदंशको घटनामा ज्यान गएको देखिएको छ । सिन्धुली जिल्लाको ९ वटै स्थानीय तहमा सर्पदंशको समस्या रहेता पनि मुुख्यतः मरिण गाउँपालिका र दुधौली नगरपालिकामा सर्पदंशको घट्ना बढी हुने गर्दछ । सिन्धुलीमा गोगन, करेत र हरेउ सर्पबाट सिन्धुली जिल्लाका १७.९ प्रतिशत स्थानीय बासीन्दाहरु प्रताडित हुने गरेको एक तथ्यांकले देखाएको छ ।
भित्रि तराईमा पर्ने नेपालका जिल्लाहरुमा सिन्धुली सर्पदंशको समस्या वर्षायामको समयमा एक विपत्ति नै मानिएकाले जिल्लामा रहेका सर्पदंश उपचार केन्द्रको स्थापना गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा आवश्यक औषधि उपचारको व्यवस्था गर्न स्थानीयले माग गर्दै आएका छन् ।
सिन्धुली जिल्लामा धेरै पाईने गोमन र करेतको विषले श्वासप्रश्वास प्रक्रियालाई अवरुद्ध वा पक्षघात गर्ने हुनाले त्यसलाई सुचारु पार्न बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ । तर स्थानीय उपचार केन्द्र र अस्पतालहरूमा त्यो सुविधा नहुँदा सर्पदंशका घटनामा अकालमै ज्यान जाने गरेको छ ।
सिन्धुली जिल्लाको छिमेकी जिल्ला महोत्तरीमा समेत भेन्टिलेटर नहुँदा केही दिनअघि मात्रै गोमन सर्पको डसाईबाट सिन्धुलीका एक युवाको मृत्यु भएको थियो । सिन्धुलीका उपचार केन्द्रमा एन्टीभेनम सुईको व्यवस्था नहुँदा सर्पदंश घटनाका बिरामीलाई अन्य उपचार केन्द्रमा पुर्याउनुपर्ने बाध्यता रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्