
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ ।
आज (शनिबार) काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वान अफ म्यान बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो ।
उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा बसेर काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताउनुभयो । उहाँले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनुभयो । नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको उल्लेख गर्नुभयाे ।
उहाँले अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताउनुभयो । उहाँले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्याँसकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दावी गर्नुभयो ।
नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताउनुभयो । उहाँले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदा समेत काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने समेत जिकिर गर्नुभयो
प्रतिक्रिया दिनुहोस्