
काठमाडाैं । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठक बारे प्रकाशन गरेको सम्भावित कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख गरेकाे छ ।
कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको राणा विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
गत फागुन १९ गते संसदमा निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा हुनुहुन्छ । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन् ।
संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो ।
आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्