२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशले चलाउनु दुर्भाग्यपूर्ण : सुवास नेम्वाङ

‘सत्तामा बस्न र एमालेलाई रोक्नका लागि विचार नमिल्नेहरूबीच ‘दूषित गठबन्धन’ भयो’

221
Shares

दाङ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले कार्यवाहक प्रधान्यायाधीशले सर्वोच्च अदालत चलाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

दाङको घोराहीमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधासभामका सभामुखसमेत रहनुभएका नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव टुंगोमा नपुर्याएर लामो समयसम्म कार्यवाहक प्रधान्यायाधीशले अदालत चलाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

उपाध्यक्ष नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छिटो टुंगोमा पुग्नुपर्ने बताउनुभयो । लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीशले सर्वोच्च चलाउनु गैरजिम्मेवारपनको हद पार गर्नु भएको उहाँको भनाइ छ ।

उपाध्यक्ष नेम्वाङले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको भन्दै अब मुलुकमा उत्पन्न धेरै गतिरोधहरू निर्वाचनले मात्रै किनारा लगाउने बताउनुभयो । एमालेको निरन्तरको दवावले निर्वाचन घोषणा गरेको उहाँले दाबी गर्नुभयो ।

विद्यमान अन्योलको परिस्थितिमा सबै कुराको छिनोफानो गर्ने तागत जनतासँग भएकाले निर्वाचन अपरिहार्य रहेको नेम्वाङले बताउनुभयो । अहिलेको परिस्थितिमा नेकपा एमालेसँगै एक्लै भिड्न सक्ने हैसियत कसैको पनि नभएको उहाँले जिकिर गर्नुभयो ।

नेम्वाङले विचार र आदर्श नमिल्ने दलहरूबीचको गठबन्धन केबल सत्तामा बस्न र एमालेलाई रोक्नका लागि गरिएको ‘दूषित गठबन्धन’ मात्रै भएको संज्ञा दिनुभयो । नेम्वाङले भावना र विचार मिल्ने जो कुनै दलसँग आवश्यकताका आधारमा एमालेले चुनावी तालमेल गर्न सक्ने स्पष्ट पार्नुभयो ।

मुलुकको आर्थिक स्थिति श्रीलंकाको जस्तै गम्भीर अवस्थामा पुग्न लागेको भन्दै नेम्वाङले चिन्ता व्यक्त गर्नुभयो । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले प्रश्नको उत्तर दिनुपर्नेमा थप प्रश्नहरू मात्र उब्जाएको उहाँले बताउनुभयो ।

आफूहरूले सिसिटिभी फुटेज मागेको भए पनि त्यो डिलिट गरिएको, फोनको कल डिटेल र मोबाइल लोकेसन हेर्न रोक लगाउनुले पनि थप प्रश्नहरू उब्जाएको नेम्वाङको भनाइ छ ।