
एजेन्सी । पाकिस्तानमा वर्षापछि आएको बाढीमा परि एक महिनामा ५ सय ४९ जनाको ज्यान गएको छ ।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका दुर्गम गाउँ बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पाकिस्तानका सरकारी निकायले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा सरकारी निकाय र सेनाले सहायता र राहत शिविर स्थापना गरी परिवारलाई स्थानान्तरण गर्ने र खाना तथा औषधि उपलब्ध गराईरहेका छन् ।
बाढीले ४६ हजार बढी घरमा क्षति पुर्याएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री शहबाज सरिफले प्रभावित क्षेत्रको भ्रमण गरी बाढी पीडितको उद्धार, राहत र पुनस्थापनाको लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
यता, बलुचिस्तान प्रान्तीय सरकारले थप कोषको आवश्यकता रहेको र सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई अपील गरेको बताएको छ ।
बाढीले प्रभावित प्रत्येक जिल्लामा खाद्यान्न अभाव भएको छ भने सात सय किलोमिटर बढी सडक बगेका कारण कतिपयको प्रदेशसँग सम्पर्क विच्छेद भएको छ ।
पाकिस्तानमा विगत ३० वर्षको अवधिमा औसतभन्दा १ सय ३३ प्रतिशत बढी वर्षा भएको र सबैभन्दा चिसो महिना भएको प्रकोप प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्