२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्यटन क्षेत्रमा चाँदीको घेरा, आश र त्रासको मझधारमा व्यवसायी

मार्केटिङ नहुँदा लक्जरी पर्यटक आउन नसकेको व्यवसायीकाे गुनासाे

299
Shares

काठमाडौं । नेपालको कुल गाहस्र्थ उत्पादन जीडिपीमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशतको हाराहारीमा छ ।

पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो जनवरीदेखि जुलाई सम्म कूल २ लाख ८५ हजारमाथि पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पर्यटकीय हिसाबले सेप्टेम्बर, अक्टोवर महिना मुख्य सिजन भए पनि नेपालमा भारत र चीनबाट मात्र पर्यटक धेरै भित्रिने गरेका छन् ।

कोभिडपछिको अवस्था केही असहज भए पनि हालका दिनमा भने अप्रत्यासित रूपमा नेपालमा पर्यटक बाक्लिएका छन् ।

भारतीय पर्यटकको आगमन राम्रो भए पनि उनीहरूले भारतीय रूपैयाँमात्र खर्च गर्छन् । नेपाललाई विश्व बजारबाट सामान आयात गर्न डलर नै चाहिने भएकाले त्यसका लागि अन्य देशका पर्यटक आवश्यक छ ।

अत्यावश्यक सामान डलरमा आयात गरिनुपर्ने भएकाले र जीडिपी लक्ष्य हासिल गर्न युरोपेली, अमेरिकी नागरिक नेपाल आउन जरुरी रहेको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउनुहुन्छ ।

पर्यटन उद्योगलाई फस्टाउन पर्यटन र पर्यटकलाई सञ्चालन गर्न अध्यन, कार्यान्वयन र प्रचारप्रसार आवश्यक छ ।

लक्जरी टुरिष्ट आउन नसकेको अवस्थामा मार्केटिङ सहि ढंगले गर्न नसकेको आरोप सरकारमाथि छ । यसमाथि अन्र्तराष्ट्रिय टिकट महंगो भएकाले अझ प्रभावित भएको टानका अध्यक्ष सुवेदीको भनाइ छ ।

पर्यटन क्षेत्रको वास्तविक विकास हुन सबै क्षेत्रलाई समेट्न नसकेको आक्षेप व्यवसायीको छ । कुनै ठाउँमा आकर्षण भए पनि पहुँच नभएको र पहुँच भएको ठाउँमा आकर्षण नहुँदा विकासमा बाधा पुगेको व्यवसायीको भनाइ छ ।

पर्यटकका लागि आकर्षक मानिएको हाइकिङ्, पर्वतीय उडान, ट्रेकिङ, ट्राभल, होम स्टे लगायतको डिजिटल प्रमोसनको अभाव देखिएको छ ।

यसबाहेक लगानीको ठूलो स्रोत सरकार नै भएकाले पर्यटक भित्र्याउने वातावरणका लागि पूर्वाधार लगायत नयाँ मोडलमा सरकार जान आवश्यक छ ।

तथापि कोभिडपछि पछिल्लो ७ महिनामा करिब ३ लाखको हाराहारीमा पर्यटक भित्रिनुले पर्यटन क्षेत्रमा चाँदीको घेरा देखिएको बुझ्न सकिन्छ ।