
काठमाडौं । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरु बताउँछन् । तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन ।
यसले वर्तमान पुस्तालाई असर त गरेको छर्दैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ । केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेका छन् ।
नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको प्रष्ट हुन्छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिताका लागि समेत खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् ।
विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित भएको नेपाली खेलकुदलाई नियालीरहेका खेलविज्ञ सुशिल नरसिंह राणाको विश्लेषण छ ।
राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याउनुभयो । नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने बताउनुभयो । तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको उहाँको बुझाइ छ । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याउन उहाँको सुझाव छ ।
करातेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाउनुभएका दीपक श्रेष्ठ विगतमा खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउनुहुन्छ । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटो रोज्दै खेल छोड्ने गरेको बताउनुभयो ।
खेलाडीको विदेश पयायनको लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेकोमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्