६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बाबुराम भट्टराईको अस्थिर राजनीतिक यात्रा

बैचारिक र बौद्धिक नेताको परिचयमा प्रश्नै प्रश्न

338
Shares

काठमाडौं । आन्तरिक शक्ति संघर्ष चुलिँदै गएपछि असार अन्तिम साता जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाही गरेर निकाल्यो । त्यसको एक महिना नबित्दै डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्नुभएको छ । तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र जनयुद्धका एक मुख्य रणनीतिकार भट्टराईको राजनीतिक यात्रा भने सधै अस्थीर रहेको छ । कुनै बेला नेपालको राजनीतिमा सबैभन्दा भरोसा गरिएका डा. भट्टराईको अबको राजनीतिक यात्रा कस्तो रहला चौतर्फी चासोको विषय बनेको छ ।

२०३९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका नेता डा. बाबुराम भट्टराईले २०७९ सालसम्म आइपुग्दासम्म एकता केन्द्र, नेकपा माओवादी, नयाँ शक्ति नेपाल, जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टी गठन गर्नुभएको छ । अहिले ६८ औँ बसन्त पार गरिसक्नुभएका भट्टराईले यहाँसम्म आइपुग्दा राजनीतिक यात्रामा करिब ४२ वर्ष पार गरिसक्नुभएको छ ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराई पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट सर्वाधिक मतान्तरले विजयी भएसँगै २०६५ सालमा अर्थमन्त्री बन्दा निकै सफल मानिनुभयो । अनपेक्षित राजश्व उठाएपछि सफल अर्थमन्त्रीका रुपमा चित्रित हुनुभएका डा. भट्टराई २०६८ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा अपेक्षित काम गर्न सक्नु भएन ।

यद्धपि काठमाडौंको सडक विस्तार गरेर लोकप्रियता कमाउनुभयो । भट्टराई प्रधानमन्त्री भएकै बेला पहिलो संविधानसभा असफल भयो । २०७० सालमा दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको सभापतिको रुपमा भट्टराईले संविधान निर्माणमा सक्रिय भूमिका खेलेपनि संविधान बनेको केही दिनपछि नै ०७२ असोज ९ गते आफ्नो जीवनको महत्वपूर्ण समय र उर्जा दिएको पार्टी परित्याग गर्नुभयो ।

२०७३ जेठ ३० मा काठमाडौंमा ठूलो कार्यक्रमबीच नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभयो । करिश्मा मानन्धर लगायतका सेलिब्रेटीलाई साथमा लिएर करिब १ लाख जनसमुदायलाई दशरथ रंगशालामा उतारेपछि बाबुरामप्रति एक खालको आकर्षण देखियो । नयाँ शक्ति बनाउन भट्टराईले ठूलो मिहिनेत गरे पनि त्यहाँ सफलता मिलेन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नयाँशक्ति पार्टीबाट डा. भट्टराईबाहेक कसैले जित्न सकेनन् ।

नयाँ शक्तिबाट राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने देखेपछि डा. भट्टराईले पार्टीलाई २०७६ बैशाख २३ मा मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी जसपामा गाभिदिनुभयो । जसपामा रहँदा पनि भट्टराई कुनै पनि समय सन्तुष्ट हुन सक्नुभएन । उपेन्द्र यादवसँगको शक्ति संघर्षका कारण जसपाबाट कारवाहीमा परेर बाहिरिनुभएका डा. भट्टराईले फेरि नयाँ दल गठन गर्नुभएको छ । राजनीतिमा नयाँ प्रयोग गर्ने भनेर नयाँ दल गठन गरेपनि पटक–पटक नयाँ प्रयोगमा असफल हुनुभएका डा. भट्टराईको न राजनीतिमा नयाँ प्रयोग गर्ने हुटहुटी मरेको छ न त हिम्मत नै हार्नुभएको छ ।

२०५२ सालमा नेकपा माओवादीले जनयुद्ध शुरु गर्नुअघि तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे माग बुझाए लगत्तै भूमिगत हुर्नुभएका राजनीतिमा जसपाबाट बाहिरिएसँगै अब डा. भट्टराईको राजनीतिक भविष्य सकिएको कतिपयको टिप्पणी छ । तर, समकालीन नेपाली राजनीतिमा कुशल योजनाकार, वैचारिक, वौद्धिक, मुलुक बनाउने दृढ चाहना भएका नेताका रुपमा परिचित डा. भट्टराईको अब राजनीतिक यात्रा कस्तो रहला त्यो प्रतिक्षाको विषय बनेको छ ।