१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीकाे स्थानीय तह जोड्ने ग्रामीण सडक लथालिंङग

यात्रु कष्टकर यात्रा गर्न बाध्य

39
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू अविरल वर्षाका कारण भत्किएर लथालिंग भएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन र डिजाइनविना सडक खनिएका कारण यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य भएका छन् । वर्षाको समयमा ग्रामीण सडकहरू लगातार रूपमा पहिरो गएर बिग्रने र भत्कने गरेर एम्बुलेन्स तथा अत्यावस्यीय सामानको ढुवानीमा समस्या भएपछि स्थानीयहरू आफै पनि सडक मर्मत र संचालनमा लाग्ने गरेका छन् ।

लगातारको अविरल वर्षाले सदरमुकाम सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको केन्द्र जाने चकमके सडक, गोलन्जोर गाउँपालिकाको खनियाखर्क–कमारे भन्ज्याङ सडक र वीपी राजमार्गको सोलाभन्ज्याङ–नागी मझुवा लगायतका सडक भत्किएर यातायातका साधनहरू संचालन गर्न र यात्रुहरूलाई आवागमनमा असुविधा भएको छ ।

सदरमुकाम सिन्धुलीमाढी–चकमके सडक अन्तर्गत सदरमुकामको माझीटारदेखि जिर्घाखोलासम्म १२ किलोमिटर सडक निकै कष्टकर बनेको छ । वीपी राजमार्गको खनियाखर्कदेखि कमारे भन्ज्याङ जोड्ने ग्रामीण सडक र गाउँपालिकाकै केन्द्र चकमकेदेखि आम्बोटे र बाहुनतिल्पुङ जाने सडक पनि केही दिनअघि आएको वर्षाले क्षति गरेकोे छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको कार्यालयसम्म आवतजावत गर्ने सिधुलीमाडी–चकमके सडक जोखिमयुक्त भएका कारण अत्यावस्यीय सामाग्रीहरूको ढुवानी र बिरामी बोक्ने एम्बुलेन्सको आवागमनमा समेत समस्या देखिएको छ ।