
काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउन थालेकाे छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरू गरेसँगै सुरक्षा निकाय आन्तरिक तयारीमा जुर्मुराउन थालेको छ । नेपाल प्रहरीका लागि हतियार किन्ने सरकारको निर्णय कार्यान्वयनमा नआएपछि प्रहरी सेनासँग ऐंचोपैंचो लिएर चुनाव सम्पन्न गर्ने रणनीतिमा हेकाे छ । स्थानीय निकायमा भर्ना भएका म्यादीलाई नै भर्ना गर्न प्रहरीले सरकारलाई सुझाव दिएको छ ।
प्रहरी प्रधान कार्यालले आगामी चुनावको लागि कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको सयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको छ । गएको स्थानीय तह निर्वाचनमा नेपाल प्रहरीले कार्यालयको कामबाहेक चुनावी मैदानमा ६१ हजार प्रहरी कर्मचारी खटाएकोमा आउँदो संघीय तथा प्रदेशसभा निर्वाचनमा पहिला भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।
आगामी चुनावमा अपुग जनशक्तिको परिपूर्ति म्यादी प्रहरीबाट गरिने छ । स्थानीय निकायमा १ लाख १८ हजार म्यादी प्रहरी भर्ना भएकोमा आउँदो चुनावमा पनि त्यही संख्यामा आवश्यक हुने प्रहरी छ । आर्थिक व्ययभार कम हुने भएकाले तिनै म्यादीलाई नियुक्ति दिन प्रहरीले सरकारलाई सल्लाह दिएको छ ।
चालू आर्थिक वर्षमा नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने घोषणा गरेपनि विवादका कारण स्थगित भएको थियो । अपुग हतियार सेनासँग माग्नुपर्ने बाध्यतामा प्रहरी रहेको छ । स्थानीय निकायको चुनावमा प्रहरीले सेनासँग हतियार मागेर सुरक्षाको दायित्व पूरा गरेको थियो ।
यसैगरी निर्वाचनको समयमा अत्यावश्यक ठूला तथा साना सवारी साधन, सञ्चार सामग्री पर्याप्त मौज्दात नहुँदा सुरक्षामा प्रभाव पर्ने जनाउँदै आवश्यक साधनका लागि प्रहरीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्