
काठमाडौं । न कुनै गुरु, न प्रशिक्षण । एक कक्षामा पढ्दादेखि नै पेन्सिलले कागजमा प्रकृति उतारेका पोखराका प्रकाश गुरुङ काठमाडौंको घनाबस्तीमा बसेर देशको चित्र उतार्छन् ।
जब युद्ध र कोभिड संक्रमणका समाचार सुन्छन्, पढ्छन् र हेर्छन् त्यसपछि प्रकाशको चार दशकको कला यात्रा धर्मराउँछ । किनकी स्वदेश बसे पनि उनका ग्राहक विदेशमा छन् ।
५२ वर्षीय प्रकाश विहान रंगमै उदाउँछन्, रंगमै अस्ताउँछन् । यसखाले यात्रा गरेको चारदशक बितिसक्यो । आफूभित्र रंगको मोह कसरी चढ्यो ? त्यसको सटिक उत्तर छैन । उनी कोलाजमा नेपालको भूस्वर्ग उतारेर विदेशी भूमिमा प्रचार गर्छन् ।
प्रकृतिको सुन्दर उपवन पोखराको जन्म । तर, उनको अन्तष्करणले फेवातालमा तैरिएको माछापुच्छ्रेको छायाँ देखेन, बरु राजा महेन्द्रको सुन्दर तस्वीरबाट श्रीगणेश भयो । प्रकाश आफ्ना कलामा बौद्धिकताको प्रकाश छर्दैनन् । बरु कल्पनाको आवेगलाई ब्रस र रंगको सहायताले एउटा आकृति दिन्छन् ।
कहिले घरको छतबाट देखिएको दृश्य जतन गरेर ल्याउँछन् र रंगलाई जिम्मा लगाई दिन्छन् । त्यही एउटा सुन्दर कलाकृति भएर आफैं बोल्छ र विदेशी पाहुना त्यसैलाई नेपालको चिनो लिएर घर फर्कन्छन् ।
यसरी बनाएको एउटा कलाकृतिको पाँच लाखसम्म लिएको रेकर्ड छ । प्रकृतिले कोरेको सुन्दर कृति नै प्रकाशको कलाकृतिको जमिन हो । समग्रमा उनको जीविका नै यही हो ।
चित्र कोर्नु र कविताका हरफ लेख्नु एउटै हो । रंगले र ब्रसले पनि नयाँ–नयाँ आयाम अनि सन्देश खोजिरहेको हुन्छ । रंगले भाव र भावले रंग खोजिरहँदा सर्जकले प्राण भर्ने काम गर्छ । रातदिन आफूले मेहनत गरेर बनाएको चित्रमा ग्राहकले अपव्याख्या गर्दा भने उनको मनमा ठेस पुग्छ ।
नेपालमा चित्रकला व्यवसायको आफ्नै दुःख छ । कलामा मेहनत बढी छ तर किन्ने उपभोक्ता संस्कृति निष्क्रिय छ । खानपान, मनोरञ्जन र खेलकुदमा थुप्रै पैसा खर्चिनेहरू कलाकृतिमा पैसा हाल्न रुचाउँदैनन् ।
केही समययता भने स्वदेशी ग्राहक बढेको सर्जकको अनुभव छ । पर्यटनको बजार ओरालो लागेका बेलामा नेपालीमा देखिएको यो रुचि व्यवसायीका लागि मरुभूमिमा पानीको प्राप्तिजस्तै भएको छ ।
देशमा आर्थिक पक्ष चलायमान होस् । नेपालका सुन्दर पर्यटकीय क्षेत्रमा विदेशी पाहुनाको लर्को सम्हाली नसक्नु होस् । अनि चित्रका माध्यमबाट नेपालको प्रचारप्रसारमा लागेका प्रकाशजस्ता सर्जकहरूको रंगमा आम्दानीको इन्द्रेणी थपियोस् । प्रकाशको मात्र हैन, अहिले देशकै यही आवाज बन्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्