
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ ।
सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रदेशका सबै जिल्लामा कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिहरूलाई जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले बुद्धिजिवीहरूको कुरो सुन्नका लागि भदौ १० गते काठमाडौंमा एक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ‘बुद्धिजीवीहरूको आँखामा नेकपा एमाले’ विषयमा कार्यक्रम सञ्चालन हुनेछ ।
बैठकले प्रदेश लेखा समिति गठन गर्नुका साथै विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ ।
बैठकले गठबन्धन सरकारको प्रत्यक्ष संलग्नतामा आकाशिदो महङी, भ्रष्टाचार, कमिसनतन्त्र र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दवाव खबरदारीसहितको आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाइ मनोनित गरेको छ ।
मनोनित हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबम्सी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देबेन्द्र खत्री र सुरेश राना रहेका छन् ।
बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी र सहइन्चार्जहरू कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्