२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण


1.599k
Shares

काठमाडौं । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।

आगामी दशैंअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो ।

सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको जनाएको छ । दशैं अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिनुभयो ।

भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उहाँले बताउनुभयो । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड खर्च गरेको उहाँको दाबी छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा. लम्सालले बताउनुभयो ।