२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

तत्काल बाम एकताको सम्भावना छैन

65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो ।

उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका विषयमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । उहाँले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, तिब्बत चीनकै भएको दावी गर्नुभयो । उहाँले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दावी गर्नसक्ने बताउनुभयो ।

उहाँले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको बताउनुभयाे । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्नका लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको समेत उहाँले बताउनुभयो ।प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिनुभएको पनि बताउनुभयो।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको विषयमा जानकारी गराउन बालुवाटार पुग्नुभएका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा थपिएको छ र त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सट बाँडफाँड गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेरअघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले बाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि वृहत बाम एकताको सम्भावना नरहेको बताउनुभयाे ।