२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कोरोना संक्रमण र मृत्यु हुनेमा ७० प्रतिशत बढी खोप नलगाएका व्यक्ति

कोरोनाकाे जोखिमबाट बच्न नागरिक नै सुरक्षित बस्नु उपयुक्त

494
Shares

काठमाडौं । नेपालमा गत फागुन महिनाको अन्तिम सातादेखि शून्यमा झरेको कोरोनाकाे मृत्युदर पुनः उकालो लाग्न थालेको छ ।

करिब चार महिनासम्म शून्य रहेको कोरोना मृत्युदर असार १ गतेदेखि सुरु भएको हो । कोरोना संक्रमण देखिनु र संक्रमणका कारण मृत्यु हुनेहरु ७० प्रतिशत भन्दा बढी खोप नलगाएका व्यक्ति रहेका छन् ।

असार १ गतेबाट सुरु भएको कोरोनाका कारण मृत्युको शिलशिला रोकिएको छैन् । केही समयदेखि दैनिक एक दुई जनाको दरले कोरोनाका कारण ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु प्रायजसो खोप नलगाएका र दीर्घरोगी रहेको पाइएको छ ।

साउन १ देखि हालसम्म १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएकामध्ये १४ जनाले खोप नलगाएको पाइएको छ । त्यस्तै मृतकमध्ये कतिपय दीर्घरोगी पनि रहेका छन्।

अहिले नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरिएन्टकै रहेको विशेषज्ञहरु बताउँछन् । डराई हाल्ने अवस्थ्या नरहेपनि कोरोना संक्रमणको ग्राफ अझै बढ्न सक्ने भएकाले पूर्ण खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकहरुको सुझाव छ ।

साउनको पहिलो हप्तासम्म ५ सयको हाराहारीमा रहेको कोरोना संक्रमितको संख्या अहिले आएर करिब एक हजार पुग्न लागेको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ७१ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन् ।

नेपालमा हालसम्म ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् भने २५ प्रतिशतले मात्र बुष्टर डोज लगाएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दो रुपमा देखिनु र समुदाय स्तरमा जनस्वास्थ्यको मापदण्डहरु नअपनाई हिड्नुले कोरोना संक्रमण बढ्ने क्रममा रहेको छ ।

कोरोना संक्रमणको जोखिमबाट बच्न नागरिक नै सुरक्षित बस्नु उपयुक्त हुन्छ ।