१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बनेपा नगरपालिका : प्रमुखकै सामू उप–प्रमुले च्यातिन् छ कर्मचारीको अवकाशपत्र


2.054k
Shares

काभ्रे । बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटाले प्रमुखकै सामुन्ने करारका कर्मचारीको अवकाश पत्र च्यातेर विरोध जनाउनुभएको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले अवकाशपत्र फिर्ता लिन नमानेपछि उप–प्रमुख सापकोटाले ६ जना करारका कर्मचारीलाई दिन तयार पारिएको अवकाशपत्र नगर प्रमुखकै सामुन्ने च्यानुभएको हो ।

नगर प्रमुख नगरसभाभन्दा माथि नरहेको भन्दै उप–प्रमुख सापकोटाले नगरसभाले गरेको निर्णय अनुसार कर्मचारीबारे कार्यपालिकाले निर्णय गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुभयो ।

करारमा रहेका कर्मचारीको म्याद थप गर्ने या नगर्ने भन्ने विवाद कायमै रहेका बेला नगर प्रमुख शाक्यको हस्ताक्षर रहेको अवकाशपत्र जबरजस्ती बुझ्न लगाएसँगै विवाद उत्कर्षमा पुगेको हो ।

नगरपालिकाका कानुनी सल्लाहकार, प्रेस सल्लाहकारदेखि तत्कालिन नगर प्रमुखका स्वकीय सचिव, तत्कालिन उपप्रमुखका स्वकीय सचिवसहित ६ जनालाई दिइएको अवकाश पत्र नगरप्रमुख शाक्य आफैंले तयार पार्न लगाउनुभएको थियो ।

अवकाशपत्रमा शाक्य आफैँले हस्तक्षर गर्नुभएको छ भने प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिइएको छ । बनेपा नगरपालिकामा दर्जनौंको संख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना हुनै लाग्दा पनि उनीहरूको भविष्यबारे अझै कुनै निर्णय हुन सकेको छैन । म्याद थपबारे कुनै निर्णय नभए पनि कर्मचारीहरूले भने आफ्नो काम गर्दै आएका छन् ।

नगरसभाले करारका कर्मचारी सम्बन्धी निर्णय कार्यपालिका बैठकले गर्ने निर्णय गरेको थियो । यद्यपि नगर प्रमुख शाक्यले अहिलेसम्म पनि कार्यपालिका बैठक बोलाउनुभएको छैन ।

कार्यपालिकामा एमालेको बहुमत छ । आफ्नो बहुमत नपुग्ने भएसँगै नगर प्रमुख शाक्यलाई कार्यपालिका बैठक छल्दै आएको आरोप लागेको छ ।