
काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरुपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो ।
स्थानीय तह निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएको भन्दै आयोगले त्यसतर्फ जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको भन्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।
निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन कार्यतालिकाअनुसार द्रुतगतिमा निर्वाचन कार्यक्रम अघि बढ्ने बताउँदै आसन्न आमनिर्वाचनलाई ऐतिहासिकरुपमा सम्पन्न गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्