२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा बाँसको व्यवसायिक खेतीले प्रयाप्त आम्दानी


598
Shares

सिन्धुली । मानव जीवनको जन्मदेखि मृत्युसम्म अर्थात नेपाली समाजमा मर्दा-पर्दा समेत आवश्यकता पर्ने बाँसको व्यवसायिक खेती सिन्धुलीमा फस्टाउँदै गएको छ ।

मध्यम गरम जलवायु तथा भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा फस्टाएको बाँस खेतीले स्थानीय किसानहरुको आय-आर्जन वृद्धि गरी जीवनस्तर उकास्न समेत मदत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवस्यक पर्ने बाँसलाई पवित्र सामाग्रीकाे रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङग्लो थुन्से भकारी, मान्द्रो र सोली जस्ता सामाग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानकाे मानिसले घरायसी प्रयोजनका लागि दैनिक रुपमा प्रयाेग गर्दै आएका छन् ।

पछिल्लो समयमा शहर बजार क्षेत्रका घर तथा भवनहरुको निर्मार्णमा समेत बाँसको प्रयोग हुन थालेपछि बाँसले बजार समेत पाएको छ । सिन्धुली जिल्लाको बाँस खेती हुने स्थानहरुमा खोलाको किनार र खेत बारीका कान्ला र डिलमा व्यवस्थित रुपमा बाँसको खेती गर्न थालिएकाे छ । अहिले बाँस खेतीले व्यवसायिक रुप समेत लिएको हो ।

बाँसका आधा दर्जन विभिन्न जातहरुमध्धे सिन्धुली जिल्लामा भने, भालुबास , तामेबास र मलबास नै फस्टाएको देखिन्छ । सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भएका बाँसहरु राजधानी काठमाडाैं, पोखरा वीरगंज लगायतका शहरहरुमा बिक्री–वितरणका लागि व्यापारीहरुले समेत लैजाने गरेका छन् । सिन्धुली जिल्लाको सदरमुकाममा एकघना बाँसको घना हेरेर १ सयदेखि ३ सय रुपैयाँसम्म पर्दछ ।

सिन्धुली जिल्लाबाट हरेक वर्ष ३० हजार टन बाँस जिल्ला बाहिर जाने गर्दछ । साथै बाँसबाट निर्माण भएका नाङग्ला, डाला, र मान्द्रा लगाएतका सामानहरु समेत देशका विभिन्न स्थानहरुमा बिक्री–वितरणमा पुर्याइने गरिएको छ । बाँसको खेती गर्ने किसानहरुले बाँसको घाँसबाट भेडा बाख्रा पाल्न समेत सजिलो हुने भएकाले बाँसको महत्व बढेर गएको हो ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच र मरिण लगाएतका स्थानहरुमा व्यवसायिक बासको खेती सुरु गरिएपछि स्थानीय किसानहरुको आय-आर्जनमा समेत वृद्धि हुन थालको छ । सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा शहरिकरणको विकाससँगै घर तथा भवनहरुको समेत निर्माणमा तीब्रता आएपछि बाँसको खपत जिल्ला सदरमुकाममा समेत बढेर गएको छ ।

बाँसका घरायसी तथा आधुनिक सामानहरु निर्माण गर्नका लागि सिन्धुली जिल्लाको ग्रामीण बस्तीहरुमा साना तथा घरेलु उधोगहरु समेत संचालन भएका छन् ।