२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीको खुर्कोट आधा दर्जन ठूला आयोजनाको केन्द्र बन्दै


4.589k
Shares

सिन्धुली । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगमस्थल सिन्धुलीको खुर्कोट आधा दर्जन राष्ट्रिय स्तरका ठूला आयोजनाहरुको समेत संगमस्थल बन्ने भएको छ ।

सुनकोशी नदीको किनारमा अवस्थित खुर्कोटमै नयाँ शहर, सुनकोशी–२ जलविद्युत, सुनकोशी मरिण डाइभर्सन आयोजना रहेका छन् भने, खुर्कोटदेखि सिन्धुलीको चियाबारीसम्म सुरुङमार्ग पनि निर्माणको चरणमा रहेको छ । खुर्कोट नजिकैबाट मध्यपहाडी राजमार्गका लागि रामेछाप हुँदै नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ । साथै नयाँ शहर र मरिण डाइभर्सनको हाई ड्यामको काम निर्माणाधीन अवस्थामा रहेको छ ।

वीपी राजमार्ग काभ्रेपलान्चोकको धुलिखेलदेखि सिन्धुलीको खुर्कोट हुँदै महोत्तरीको बर्दिबाससम्म १ सय ६० किलोमिटर रहेको अवस्थामा सवारी साधनहरुको चाप अत्याधिक बढेका कारणले वीपी राजमार्गमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्ने तयारी गरिएको हाे । एक अध्ययनका अनुसार सुरुङको लम्बाइ ७.७ किलोमिटर लामो हुँदा हालसम्म नेपालमा सडकमार्गको क्षेत्रमा निर्माण गर्न लागिएको सबै भन्दा लामो सुरुङमार्ग पनि अनुमान गरिएको छ ।

मरिण डाइभर्सन आयोजनाको मुख्य उद्देश्य सुनकोशीको पानी १३ किलोमिटर लामो सुरुङमार्फत सिन्धुली बजारस्थित मरिण खोलामा खसालेर मधेश प्रदेशको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । त्यसबाहेक खुर्कोट बजारबाट करिब २८ किलोमिटर पूर्वसुनकोशी–२ जलाशययुक्त जलविद्युत आयोजनाको बाँध रहने गरी निर्माण गर्ने तयारी सरकारले गरेको छ।

सुनकोशी–२ बाट ९ सय ७८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। जलविद्युत आयोजनाको अवधारण सन् १९८५ मा आएको थियो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएको छ । आयोजनाले सिन्धुली, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका केही स्थानमा असर गर्ने देखिन्छ ।

सरकारले खुर्कोट बजारमै नयाँ शहर निर्माण गर्ने क्रममा विभिन्न भौतिक विकासका कामहरु संचालन भइरहेका छन् ।सरकारले मध्यपहाडी राजमार्गका १० ठाउँलाई नयाँ शहरका रूपमा विकास गरी जनसंख्या वृद्धिलाई रोक्ने उदेश्य राखेको छ । नेपालमा उक्त १० स्थान मध्ये खुर्कोट बजार पनि एक हो । हाल खुर्कोटमा जति पनि आयोजना निर्माणाधीन अवस्थामा छन्।

तीमध्ये सबै भन्दा पहिला सुनकोशी–२ जलविद्युत आयोजनाको अवधारण आएको थियो ।