१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा विपदकाे तयारी तीव्र


169
Shares

दाङ । दाङलाई विपदका दृष्टिकोणले उच्च जोखिम क्षेत्रको रुपमा लिईन्छ ।

बाढी, पहिरो र डुवानलगायत दैवी विपदका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले पनि यो जिल्लामा विपदकाे पूर्वतयारीलाई तीव्र रुपमा अगाडि बढाईएको छ ।

जिल्लामा हरेक वर्ष औसतमा १ सय ४० घर बाढीका कारण, ९८ घर आगलागीका कारण र ४० घर हावाहुरी, भारी वर्षा, चटयाङ लगायत कारणबाट घरमा क्षति हुने गरेको छ । अहिलेसम्म जिल्लामा कम मात्रामा पानी परेको हुनाले कुनै पनि त्यस्तो प्रभाव नपरेको भएपनि विपदकाे पूर्वतयारी भने तीव्र रुपमा गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दैवी विपद जुनसुकै अवस्थामा पनि आउन सक्ने भन्दै तयारीलाई तीव्र रुपमा अगाडि बढाईएको जानकारी दिनुभयो ।

प्रशासनले मात्र नभई स्थानीय सरकारले पनि विपदबाट बच्नको लागि तयारी गरेका छन् । घोराही उपमहानगरपालिकाले विपद जोखिम न्यूनिकरण गर्नको लागि जोखिमको सम्भावित क्षेत्रमा सूचना प्रवाह गर्दै आएको छ । कुनै ठाउँमा विपदकाे समस्या भएमा त्यहाँका नागरिकहरूलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने उपमहानगरको भनाइ छ ।

महानगरका मेयर नरुलाल चौधरीले दाङ विपदकाे उच्च जोखिममा रहेको भन्दै पूर्वतयारी गरिएको बताउनुभयो । बाढी पहिरोबाट हुन मानवीय क्षति हुन नदिन र उद्धारका लागि उपमहानगरपालिका तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

घोराहीमा बबई नदी, हापुर खोला, गुर्जे खोला र सेवार खोला कटुवा खोला जस्ता खोलाहरूले वर्षेनी कटान गर्ने मात्र हैन मानवीय संकट पनि निमत्याउदै आएका छन् । तुलसीपुरमा उपमहानगरमा सबै भन्दा बढी पातुखोलाले मानवीय क्षति पुर्याउदै आएको छ । तर यस पटक भने समय नघर्कीदै पूर्वतयारी गरीएकाले मानवीय क्षति नहुने आंकलन गरिएको छ ।

खोला पछिल्लो समय कुलाको रुपमा परिणत भएपछि धेरै पानी परेमा ठूलो विपद हुनसक्ने स्थानीयको भनाइ छ । अहिले खासै पानी नपरेको भएता पनि भोलिका दिनमा भयावहस्थिति आउने सक्ने उनीहरूको भनाइ छ । देशमा २० वर्ष पहिले राजनीतिक अस्थिरता भएको समयमा कर्मचारीहरूले स्थानीय तह सञ्चालन गर्दा त्यसको फाइदा उठाएर खोलामा बस्ती बसालिएको जनप्रतिनिधिको भनाइ छ ।

बस्ती जोगाउनको लागि खोलाको दुवैतर्फ तटबन्धन गरेको भएपनि बस्ती जोखिममै रहेको देखिन्छ । जिल्लाको बंगलाचुली गाउँपालिका, शान्तिनगर, बबई, दंगिशरण बाढी तथा पहिरोको जोखिमा रहेका छन् । त्यसैले यस क्षेत्रमा पनि सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन जरुरी छ ।