१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेश : संघीयमा १२ र प्रदेशमा २० सिटमा कांग्रेसको दाबी

अरू दलको भागमा ६ संघीय र १६ प्रदेशसभा सदस्य !

26
Shares

पोखरा । आगामी संसदीय निर्वाचनमा सत्तारुढ गठबन्धनले नेकपा एमालेविरुद्ध एकजुट भएर जाने लड्ने निर्णय गरेसँगै दलहरूबीच गण्डकी प्रदेशमा पनि भागबण्डाको बहस सुरु भएको छ ।

जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको हो । गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाहेक थप २ दल चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपाल र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी भने सिट दाबी गर्ने गरी अस्तित्वमा छन् । सबै दलले आफ्ना लागि धेरैभन्दा धेरै सिट पार्न लबिङ गर्दै छन् ।

कांग्रेसको दाबी स्वीकार्ने हो भने गठबन्धनका अरु दलले संघका ६ र प्रदेशका १६ सिटमा चित्त बुझाउनुपर्ने हुन्छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेससँग अन्य दलले बार्गेनिङ गर्नुपर्ने अवस्था छ ।

भर्खरै सकिएको स्थानीय तहको निर्वाचनले पनि गठबन्धनका अन्य दलभन्दा कांग्रेसको मत धेरै नै माथि देखाएकाले कांग्रेस नेताहरू एमालेलाई पराजित गर्ने हो भने धेरैभन्दा धेरै सिटमा कांग्रेसका उम्मेदवार उठाउनुपर्ने तर्क गर्छन् ।

कांग्रेस गण्डकीका एक नेताले एमालेलाई पराजित गर्ने सत्ता गठबन्धनको पहिलो उद्देश्य रहेकाले कांग्रेसले एक्लै जित्ने सम्भावना भएका ठाँउमा अन्य दलले दाबी गर्नु उचित नहुने बताए । जहाँ तीव्र प्रतिस्पर्धा वा एमाले बलियो छ, त्यहाँ जित्ने दल र व्यक्तिलाई उठाउनुपर्ने उनको तर्क छ ।

स्रोतका अनुसार गण्डकी प्रदेशमा प्रतिनिधिसभाका १८ सिटमध्ये १२ सिटमा कांग्रेसको दाबी छ । त्यस्तै, प्रदेशसभाका ३६ सिटमध्ये कम्तीमा २० सिटमा कांग्रेसले छोड्नै नसक्ने अवस्था रहेको जनाएको छ ।

कांग्रेसले संघीय संसदमा स्याङ्जा र तनहुँका दुवै क्षेत्रसहित मुस्ताङ, म्याग्दी, पर्वत र मनाङ अन्य दललाई छोड्न नसकिने जनाएको छ । त्यस्तै, कास्कीका ३ मध्ये २ क्षेत्र, बागलुङका २ मध्ये १ क्षेत्र र नवलपुरका २ मध्ये १ क्षेत्रमा उसको दाबी छ ।

गोरखा दुवै र लमजुङको संघीय क्षेत्र छोड्न कांग्रेस लचिलो छ । त्यस्तै, कास्की, बागलुङ र नवलपुर जिल्लाका पनि १–१ संघीय क्षेत्र गठबन्धनलाई छोड्न कांग्रेस राजी भएको स्रोतको दाबी छ ।

कांग्रेसले छोड्न चाहेका ६ निर्वाचन क्षेत्रमध्ये बागलुङको १ निर्वाचन क्षेत्र जनमोर्चाका चित्रबहादुर केसीका लागि सुरक्षित छ भने गोरखाको १ निर्वाचन क्षेत्र नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईका लागि सुरक्षित मानिन्छ ।

कांग्रेसको भागबण्डा मान्ने हो भने माओवादी केन्द्र र नेकपा एसले कास्की, लमजुङ, गोरखा र नवलपुरका १–१ क्षेत्र गरी ४ संघीय सिटमा चित्त बुझाउनुपर्ने हुन्छ । यता, प्रदेशसभा सदस्यका लागि गण्डकीमा ३६ निर्वाचन क्षेत्र रहेकोमा त्यसमा पनि कांग्रेसको २० क्षेत्रमा दाबी छ ।

स्रोतका अनुसार लमजुङ र मुस्ताङका दुवै, म्याग्दी, बागलुङ, पर्वत र मनाङमा १–१ प्रदेशसभा सदस्यमा कांग्रेसको दाबी छ । त्यस्तै, कास्कीमा ३, नवलपुरमा ३, स्याङ्जामा २, गोरखामा २ र तनहुँमा २ प्रदेश सभा क्षेत्रमा कांग्रेसको दाबी छ ।

मुस्ताङमा गठबन्धनको अन्य कुनै पनि दलको प्रभाव नभएकाले दुवैमा दाबी गरेको कांग्रेसले मनाङमा १ क्षेत्र स्वतन्त्रलाई दिने योजना बनाएको छ । कांग्रेसको सोच अनुसार हुने हो भने गठबन्धनका अन्य ४ दलले प्रदेशमा १६ सिटमा चित्त बुझाउनुपर्ने छ ।

कांग्रेसका ती नेताका अनुसार बागलुङमा जनमोर्चाका लागि १ प्रदेशसभा र गोरखामा नेपाल समाजवादी पार्टीका लागि १ प्रदेश सभा सिट दिनैपर्ने छ भने नेकपा एसका लागि बागलुङ, कास्की र तनहुँ गरी ३ वटा प्रदेशसभा दिनुपर्नेछ ।

कांग्रेसको यो फर्मुला अनुसार गण्डकी प्रदेशसभामा माओवादी केन्द्रले १० क्षेत्र पाउँछ । कांग्रेसको सोच अनुसार सिट बाँडफाँटमा सहमति हुने हो भने माओवादी केन्द्रले बागलुङ, गोरखा, म्याग्दी, पर्वत र तनहुँमा १–१ प्रदेशसभा पाउनेछ ।

यस्तै, कास्की, स्याङ्जा र नवलपुरमा २–२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र पाउनेछ ।