१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतबाट गहुँ आयात नहुँदा फ्लोर मिल बन्द हुने अवस्थामा


832
Shares

काठमाडौं । भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् ।

उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले बताएका छन् । रुपन्देही फ्लोर मिलका कोषाध्यक्ष अरुणकुमार गोयन्काले नेपालमा उत्पादित गहुँले उद्योगहरू तीन महिनाभन्दा बढी चल्न नसक्ने हुँदा सरकारले गहुँको आयात खोल्नका लागि भारत सरकारसँग पहल गर्नुपर्ने बताउनुभयो ।

नेपालमा सञ्चालित ३७ वटा उद्योगमध्ये चारवटा उद्योग बन्द भइसकेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको गोयन्काको भनाइ छ । २१ वटा उद्योग रहेको लुम्बिनी प्रदेशमा १७ वटा उद्योग रुपन्देहीमा मात्र रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि सूचना जारी गरे पनि अहिलेसम्म गहुँ आयात नखुलेको उद्योगी गोयन्काले जानकारी दिनुभयो ।

मन्त्रालयले गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि साउन २८ गतेभित्र मन्त्रालयको इमेलमा आवश्यक कागजात पेस गर्न भनेको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्यांकअनुसार सन् २०२०/०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ ।

उक्त अवधिमा भारतले नेपाललाई तीनलाख ३० हजार ७०७ मेट्रिक टन गहुँ निर्यात गरेको थियो । भारत सरकारले भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको हो ।