
काठमाडौं । विश्वले आवश्यकताको रूपमा लिएको बीमा संस्कार नेपालमा बामे अवस्थामा छ ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि बीमाले चर्चा पाएको हो । मुलुकमा १६ बढी निर्जीवन, १८ बढी जीवन बीमा र १ पुनर्बीमा कम्पनी त खुले । तर, आम मानिसमा बीमाप्रतिको धारणा सकारात्मक छैन ।
अझ परिपक्व बीमा पाउनुपर्ने रकम लिन गर्नुपर्ने संघर्षले वीमित हैरान हुने गरेका छन् । बचत भएर विपदमा सहयोग गर्नुपर्ने बीमा पछिल्लो समय हिंसाको कारक पनि बन्दै गएको छ ।
त्यस्तै बीमा गर्ने र बीचमै छाड्ने प्रवृत्ति पनि बढ्दो छ । नेपालमा पछिल्लो समय समर्पण गर्ने क्रम डरलाग्दो आयतनमा वृद्धि हुँदै गएको नियामक निकायकै तथ्याङ्कले देखाएको छ ।
बीमा समितिका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख बढी रूपैयाँका ८१ हजार ८ सय ६० बीमालेख समर्पण भएका छन् । जुन रकमका आधारमा गत वर्ष भन्दा २३ प्रतिशतले बढी हो ।
बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेपाल, राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसनका बीमितले सबैभन्दा बढी बीमा सरेन्डर गरेको पाइएको छ । यसरी उच्चदरमा पोलिसी अस्वीकार्य हुनुलाई बिमा क्षेत्रमा राम्रो मानिँदैन ।
नियामक निकायदेखि बीमा कम्पनी, बीमा अभिकर्ता र स्वयं बीमित उत्तरदायी बन्न नसकेर यस्तो अवस्था आएको विज्ञसमेत रहनुभएका पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको तर्क छ ।
एउटा बीमितले बीमा गर्दा आम्दानीको श्रोत के हो र उसको कमाई अल्पकालीन वा दीर्घकालीन हो भन्ने जानकारी हुनुपर्ने जरुरी हुन्छ । हैसियतभन्दा बढीको बीमाले समर्पण मात्र नभई हिंसा समेत निम्याइरहेको छ ।
बीमामा बढी रकमको पोलिसी लिएको छु भनेर आफूलाई उच्च देखाउने सोच र प्रिमियम तिर्न नसकेर सरेण्डर गर्ने बढेको संस्थानको भनाइ छ । यसले बीमाप्रति नै नकारात्मक धारणाको वृद्धि हुँदै गएको छ ।
फाइनान्सियल अण्डरलाइटिङ्गलाई अभिकर्ता र बीमा कम्पनीले बुझ्न जरुरी देखिन्छ । जीवन बीमामा हुने गरेको समर्पण बीमित बीमा उद्योग हुँदै मुलुककै लागि घातक हुने निश्चित भएको डा. घिमिरे बताउनुहुन्छ ।
पहिलो त नेपालीहरूले स्वतःस्फूर्त बीमा गर्नुपर्ने वातावरण बनाउन सक्नुपर्छ । यसमा सर्वप्रथम त बीमा शिक्षाकै खाँचो देखिन्छ । नत्र बीमा मात्र यस्ता कारणले बीमाप्रतिको आकर्षण भन्दा पनि विकर्षण बढ्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्