
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिपक्ष दल नेकपा एमालेविरुद्ध महागठबन्धन बनाउने पहल गरेको छ ।
आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने लिखित सहमति गरिसकेका सत्तागठबन्धनका नेताहरू गठबन्धनबाहिर रहेका राजनीतिक दलहरूलाई समेटेर महागठबन्धन बनाउने प्रयास गरिरहेका छन् ।
महागठबन्धन निर्माणको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल समाजवादी पार्टी र नेकपा एकता अभियान पार्टीसँग सघन छलफल गरिएको छ ।
सोमबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पाटीलाई गठबन्धनमा सहभागी गराउन औपचारिक प्रस्ताव राख्नुभयो । निधिको प्रस्तावमा कांग्रेसका कुनै पनि नेताहरूले असहमति जनाएनन् ।
हुन त लोसपालाई गठबन्धनमा आबद्ध गराउने प्रयास पहिलेदेखि नै भएको थियो । गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका शीर्ष नेताहरूबीच यसअघि पटक–पटक छलफल भइसकेको छ ।
लोसपालाई गठबन्धनमा सहभागी गराउने विषयले गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पनि प्रवेश गरिसकेको छ ।
गठबन्धनमा सहभागी हुन सरकार समक्ष अघि सारेका मागमा सरकार सकारात्मक देखिएपछि लोसपा पनि सरकार र गठबन्धनमा सहभागी हुने साइत कुरेर बसेको छ ।
तर, गठबन्धनको एक घटक जनता समाजवादी पार्टीको अनिच्छाको कारण लोसपाको सरकार गठबन्धनमा सहभागीतामा ढिलाई भएको छ । गठबन्धन लोसपाबाहेक अन्य दलहरूलाई पनि सहभागी गराउन प्रयासरत छ ।
सोमबार बसेको सत्तारुढ गठबन्धनको सीट बाँडफाँट समितिको बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउनुपर्ने औपचारिक प्रस्ताव राख्न्नुभएको छ ।
जसपाबाट बाहिरिएर नेपाल समाजवादी पार्टी गठन गर्नुभएको अध्यक्षद्धय डा.बाबुराम भट्टराई र महिन्द्रराय यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।
जसपाबाट बाहिरिए पनि गठबन्धनबाट नबाहिरिएको प्रतिक्रिया दिनुभएका डा.भट्टराईले प्रधानमन्त्री देउवासँगको छलफल सकारात्मक भएको सार्वजनिक गर्नुभएको छ ।
गत महिनामात्रै नेकपा एकता अभियान पार्टी गठन गर्नुभएका नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पनि गठबन्धनमा समेट्ने प्रयास भइरहेको छ ।
सत्तागठबन्धनमा रहेको वाम दलहरूले समाजवादी केन्द्र निर्माणको नामबाट गौतमलाई पनि गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।
एक वर्षअघि नेकपा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनलाई केन्द्रित गरेर कम्तिमा ८ दलीय हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्