१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नदीको प्राकृतिक धारमा अवरोध पुर्‍याउँदा हरेक वर्ष डुब्दै काठमाडौं

बेघर बन्दै स्थानीय, करोडौंका संरचना बगेर नष्ट

2.145k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका खोलानालाको प्राकृतिक बाटोमा अवरोध पुर्‍याउँदा त्यसको परिणति के हुन्छ भन्ने उदाहरण गएराति वर्षापछि आएको बाढीले देखाएको छ ।

उपत्यकाका मनोहरा, हनुमन्ते र धोवीखोलामा आएको बाढीले रौद्र रूप देखाएका छन् । रातारात आएको बाढीले घरमा बसेका मानिसलाई बेघर मात्र बनाएको छैन, करोडौंको संरचना बगेर नष्ट भएको छ ।

काठमाडौं उपत्यकामा अविरल बर्षाले हरेक वर्ष केही न केही वितण्डा गरिरहेको हुन्छ । यसको मूल कारण हो अनाधिकृत रूपमा बनाइएका संरचना र अनावश्यक रूपमा बनाइएका ढल ।

भारी वर्षासँगै आएको बाढीले नदी छेउछाउका घर तथा बस्ती भत्किएका छन् । बाढीले मानवीय क्षति नभए पनि बाढीले दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर डुबानमा परेका छन् ।

काठमाडौ उपत्यकाका बागमती, मनोहरा, धोवीखोला, काँडाघारी, परोपकार, बल्खु, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा लगायतको क्षेत्र डुबानमा परेको हो ।

अविरल बर्षाको कारण पार्किङ गरिएका सवारी साधनमा समेत क्षति पुगेकोछ भने प्रहरी प्रभाग काडाँघारीमा बाढी पस्दा समस्या आएको छ ।

विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट जनजीवन प्रभावित भएको छ । पानीसँगै आएको बाढीले अधिकांश भित्री सडक जलमग्न हुँदा बाढीले बल्खु तरकारी बजार समेत प्रभावित भएको छ । बाढीले मानवबस्तीदेखि लिएर सरकारी कार्यालयमा समेत क्षति पुर्याउने छ ।

कतिपय सडक भासिने र बीच–बीचमा चिरा समेत पारेको छ । कमजोर संरचना र अनाधिकृत नदी तथा खोला मिचेर बनाइएका मानव बस्ती वर्षेनी उच्च जोखिममा परेका छन् । हरेक वर्ष आउने मनसुनले ठूलो जनधनको क्षति गर्छ ।

मनसुनी वर्षाले प्राकृतिक प्रकोपको उच्च जोखिम रहन्छ । तथापि पनि बाढीको पूर्वअनुमान सुचना जल तथा मौसम विभागले दिने गरेता पनि पूर्वतयारी तथा जल उत्पन्न प्रकोप व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्ने कुनै निकाय देखिँदैन ।

काठमाडाैं उपत्यका मात्र होइन वर्षेनी आउने बाढी तथा पहिरोले गर्दा मूलुकमा हजारौ नागरिक विस्थापित र सयौंले ज्यान गुमाएका दुःखद घटना ताजै छन् । तर, पूर्व तयारीतर्फ सरकारी निकायको ध्यान जान सकेको छैन ।