
ओखलढुंगा । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई अर्थात् व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीमा जनश्रमदानसहित करिब १ करोड लागतमा संग्रहालय निर्माणको काम थालिएको छ ।
पैतृक घर तथा ६ रोपनी जग्गा राईले व्याकुल माइला प्रतिष्ठानलाई उपलब्ध गराएपछि संग्रहालय निर्माणको काम थालिएको हो ।
संग्रहालयका लागि शहरी विकास तथा भवन कार्यालयले अघिल्लो आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेर कच्ची घरलाई प्रबलीकरणको काम गरेको छ । प्रबलीकरणको काम पूरा गर्न कार्यालयले चालु आर्थिक वर्षमा पनि ५० लाख बजेट विनियोजन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले संग्रहालय निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेर काम गर्ने तयारी गरेको छ ।
संग्रहालयमा स्थानीय जनजीवन, रहन सहन, संस्कार संस्कृति झल्कने सामग्रीहरु, कलाकौशल तथा व्याकुल माइला र उहाँको पारिवारिक जीवनसँग जोडिएका सामग्रीहरु राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्