१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बढ्दै भाइरलका बिरामी : ठाउँ–ठाउँका विद्यालय बन्द, अस्पतालका शय्या भरिए


923
Shares

काठमाडौं । मौसमी उतारचढाव, निरन्तर झरी र त्यसमाथिको गर्मीका कारण देशभर भाइरलका बिरामी बढेका छन् ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रुघाखोकी, ज्वरो, शरीर दुख्ने समस्याबाट प्रताडित छन् । भाइरल ज्वरोको प्रभाव त यति शक्तिशाली छ कि औषधिले समेत काम नगरेको बिरामीको गुनासो छ । मौसमको असन्तुलनले प्रकोप बढेको बताइन्छ । कोरोनालगायत अन्य संक्रमणसँग कुनै साइनो नरहेकाले नआत्तिन चिकित्सकहरूले सल्लाह दिएका छन् ।

दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको मान्छेमा साँझ परेपछि हनहनी ज्वरो, रुघा खोकी लाग्ने, टाउको दुख्ने, वाक वाक लाग्ने लगायतका समस्या देखिने गरेको छ । विरामी परेको एक हप्तासम्म ओछ्यानबाट उठ्नै नसक्ने अवस्था रहने गरेको छ ।

अझ कोभिड संक्रमणमा परिसकेकाहरूले थप कमजोरी महसुस गर्ने गरेका छन् । स्कुले बच्चाहरू यस्तो समस्या बढी पीडित देखिएका छन् । बिरामी परेर अस्पताल भर्ना भएकामध्ये ५० प्रतिशत भाइरलका बिरामी रहेको अस्पतालको रेकर्डले जनाउँछ ।

देशका पहाडी जिल्लामा केही कम देखिए पनि तराईका जिल्लाहरूमा भाइरल बिरामीको प्रकोप अझ बढेको देखिन्छ । अहिले प्रायजसो बिरामीलाई एडीनो नामक भाइरसबाट प्रभावित रहेको जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनको विश्लेषणले देखाएको छ ।

भाइरलका बिरामी बढ्न थालेपछि देशका विभिन्न ठाउँमा विद्यालय बन्द गरिएको छ । विरामी विद्यार्थी स्कुल नआउने र आएकाहरूबाट अन्यमा सर्ने देखिएपछि स्कुल बन्द गरिएको हो । अस्पतालहरू पनि बिरामीले भरिएका छन् ।

यस्तो मौसममा बिरामी बढ्नु स्वाभाविकै रहेको चिकित्सकहरू बताउँछन् । अहिले देखिएको भाइरस खासै जोखिमपूर्ण नभएको र पूर्ण निको हुन कम्तीमा एक हप्ता लाग्ने भएकाले संयमित भएर उपचार गराउन चिकित्सकहरूको सुझाव छ ।

सामान्यतया खानपान, सरसफाइलगायत जीवनशैलीलाई ध्यान दिए भाइरल बिरामी नहुने र भए पनि छिटै सन्चो हुन्छ । बिरामी परिहाले चिकित्सकको सल्लाहअनुसार उपचार गराए जोखिम कम हुने गर्दछ । यस समयमा खानपान, पोशाक र पानीबाट नभिज्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।