
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।
गत वर्षको साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।
ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आएपनि निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।
बढेको इन्धनको मूल्यअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्षदेखि नै आन्दोलन गर्दै आएका छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्