
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय योग्य जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने भन्दै उहाँले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापक प्रयत्नशील हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । विश्वविद्यालयका समस्यालाई आपसी संवादबाट समाधान गर्नुपर्ने प्रधानमन्त्री देउवाको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्