
काठमाडौं । बढ्दो शहरीकरणसँगै जथाभावी गरिएको प्लटिङको परिणाम मनहरा सकुम्बासी बस्ती डुबानमा प¥यो । विद्यालयदेखि पुलिस चौकीमा बाढीको पानी पसेर वितण्डा मच्चायो ।
दोष बाढीले पाए पनि खोलालाई आफ्नो व्यवसाय अनुकूल डोर्याउने जग्गा व्यवसायी र व्यवसायी अनुकूल वैद्यता दिने सरकारी कर्मचारी दोषका भागीदार हुन् ।
त्यसमाथि जुनसुकै नाममा आउने चन्दा, सहयोग ग्रहण गर्ने राजनीतिक दलका तल्लोदेखि माथिल्लो निकायसम्मले यो प्रवृत्तिमा आगोमा घिउ थप्ने काम गरेका छन् ।
मनहरा खोलालाई जग्गा व्यवसायी आफू अनुकूल कहिले भक्तपुर त कहिले काठमाडौंतर्फ डोर्याउँछन् । हिउँदमा पानीको सतह घट्दा कुलो बनाएर ह्यूम पाइपभित्र छिराउने जग्गा व्यवसायीले बर्खामा खोलाले रौद्र रूप धारण गर्छ भन्ने कल्पनै गर्दैनन् ।
किनकी उनीहरूलाई व्यावसायिक दूनो सोझ्याउने बाहेक अरु ध्याउन्नै हुँदैन । मनहरा खोला किनारमा बस्ने सुकुम्बासीहरू अहिले बाढीको चपेटामा परेका छन् । उनीहरू ज्यानमा भिरेको लुगा मात्र लगाएर बाढीबाट ज्यान जोगाउन सफल भए ।
उनीहरूकाअनुसार आजभन्दा अढाई दशकअघि उनीहरू यो ठाउँमा घर बनाएर बसेका हुन् । त्यतिबेला यहाँ कुनै बस्ती थिएन । अहिले उनीहरू खोला किनारमा बसेको देखिएपनि खोला बगेको ठाउँमा पुग्न निक्कै समय लगाउनुपर्थ्याे ।
जग्गाका खेलाडीहरूले आफ्नो बस्ती अगाडि ल्याएर खोला हुल्दिएको ७५ वर्षीय बाढी पीडित वृद्ध बताउनुहुन्छ ।
सुकुम्बासीलाई भोट बैंकका रूपमा राजनीतिक दलहरूले उपयोग गर्ने गरेका छन् । तर व्यवस्थापनमा कसैले ध्यान दिएका छैनन् । जुन चरित्र अहिले पनि दोहोरिएको पीडितको आरोप छ ।
स्थानीय निकायको चुनावताका खोलाको समस्याका बारेमा हरेक पार्टीका उम्मेदवारलाई घाँटीघाँटीसम्म जानकारी गराएका थिए । तर कसैले सुनेनन् । फगत आश्वासनमा सीमित रह्यो ।
कुनै न कुनै दिन यस्ता अप्रिय घटना हुनेमा आफूहरू जानकार रहेको बताउने पीडितहरू वैकल्पिक उपायबारे सम्बन्धित निकायको ध्यान नजाँदा बिचल्ली भएको बताउँछन् ।
सुकुम्बासी बस्ती मात्र हैन, काठमाडौं–भक्तपुर सीमाक्षेत्रका थुप्रै घर विनासको संघारमा छन् । खोलालाई आफ्नो प्राकृतिक लयबाट खुम्च्याउने भूलबाट मुक्त गर्नु नै त्यसको दीगो उपचार हो ।
समाधानको यो बटमलाइनमा सबैको एकमत भएमात्र घरपरिवारसँगै सिंगो समाज सुरक्षित हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्