३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार छ : मन्त्री बडू


52
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताउनुभएको छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताउनुभयो । मन्त्री बडूले सरकारले आफ्नो सीमा भित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि बताउनुभयो ।

मन्त्री बडूले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै नजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गर्नुभयो ।

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताउनुभयो ।