
पाँचथर । इतिहास संरक्षण गर्ने अभियान स्वरुप पाँचथर सदरमुकाम फिदिम-४ जोरसालमा ३३ वर्षअघि बन्द भएको औशी र पूर्णिमा हाट बजार शुक्रबारबाट लाग्न थालेको छ ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सुरक्षा निकायका प्रमुहरु, फिदिम ४ का वडाअध्यक्ष उपेन्द्र लावती, फिदिम १ का वडा अध्यक्ष गजाधार भट्टराई लगायतले हाटको उद्घाटन गरेका हुन् ।
गाउँघरमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तुलाई बजारसम्म लगेर प्रर्वद्धन गर्ने उद्देश्यले हाटको उद्घाटन गरिएको हो ।
उद्घाटनमा नेवारी संस्कृति लाखेनाच, स्थानीय लोकभाकादेखि सांस्कृतिक झाँकीसमेत प्रदर्शनी गरिएको थियो । स्थानीयहरुको आपसी बेमेलकै कारण हाट बन्द भएको थियो । सदरमुकाम फिदिम बजारबाट २ किलोमिटरमात्र पश्चिममा रहेको जोरसाल बजार ऐतिहासिक बजार हो ।
तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङको अधिकांश क्षेत्र र पाँचथरको दक्षिण पश्चिम क्षेत्र मुख्य व्यापारिक केन्द्र होे । जोरसालमा सक्रिय देउराली युवा समूहको अगुवाईमा पाक्षिक हाट सुरु गरिएको हो ।
फिदिम नगरपालिका, उद्योग वाणिज्य संघ, फिदिम नगरको वडा ४ समेतको केही आर्थिक सहयोगमा हाट पुनः सञ्चालन हुन लागेको हो । यस क्षेत्रमा वि.स. २०३८ सालदेखि हाट लाग्न बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्