
काठमाडौं । गाईजात्रा अब सांस्कृतिक पर्व मात्र रहेन । जात्रालाई माध्यम बनाएर अधिकारका लागि लड्ने समुदायले यही माहोलमा आफ्नो वर्गीय हितमा आवाज उठाएका छन् ।
निलहीरा समाजले काठमाडौंमा गरेको कार्यक्रमको दृश्यले बेग्लै स्वाद पस्किएको थियो । विभिन्न भेष भुषामा सजिएर आएका यौन लैंगिक र अल्पसंख्यक समुदायका मानिसको झल्को हेर्न आएकाहरूको घुइँचो थामिनसक्नु थियो ।
समाजले १८ वर्षदेखि गाईजात्राको छेको पारेर शहरका विभिन्न भाग परिक्रमा गरी गाईजात्रा पर्व मनाउने गरेको छ । यौन लैंंगिक र अल्पसंख्यक समुदायको एउटै आवाज छ कि समाजमा जिउने अधिकार हनन् नहोस् ।
नेपालको नागरिक भएर जन्म लिएपछि नेपाली हुने अधिकार समेत खोसिएर समाजमा अपहेलित हुनुपरेको गुनासो उनीहरूको छ ।
कतिपयको परिवारले दाहसंस्कारसम्म पनि गर्ने नगरेका कारण दिवंगत आत्माको चिरशान्तिको लागि कार्यक्रम गरिएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताउनुभयो ।
यसवर्ष उनीहरूको गाईजात्राको नारा भने ‘सम्मान र मर्यादा सहितको सबल समुदाय’ रहेको छ । कार्यक्रममा देशभरीका एक सय बढीको सहभागिता थियो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासले हरेक वर्ष साथ दिने गरेको छ ।
राजधानीको टुंडिखेलमा भएको सांस्कृतिक कार्यक्रममा हजारौं रमिते सहभागी थिए । भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई धौ–धौ परेको थियो ।
यौनिक र लैंगिक अल्पसंख्यक भएकै कारण नागरिकता पाउने अधिकारबाट समेत बन्चित रहनुपरेको पीडालाई यस्ता कार्यक्रमले मल्हम लगाउने काम गर्ने उनीहरूको बुझाई छ ।
सांस्कृतिक कार्यक्रममा कलाकारहरूले आ–आफनो प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्