
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै शेखर कोइराला समुह असन्तुष्ट बनेको छ ।
सो समुहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाउँदै यसविरुद्ध आफ्नो समुहको रणनीति बनाउन शनिबार आफूपक्षीय बैठक बोलाएको छ । शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिनुभयो ।
सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ । देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समुहको तयारी छ छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।
देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नुभएको छ । कोइराला समुहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै, किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समुह अटेको छैन । यस्तै चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्