१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पार्टीभित्र विचार र कार्यदिशामा अन्तरविरोध देखियो, विचारहरू स्वार्थकेन्द्रीत हुन थाले’


390
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र विचार र कार्यदिशामा अन्तरविरोध देखिन थालेको बताउनुभएको छ ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले श्रम, उत्पादन र सांस्कृतिक रुपान्तरणलाई एकसाथ लैजानुपर्नेमा आफूहरूले त्यसो गर्न नसकेको बताउनुभयो ।

‘हाम्रा विचार, कार्यदिशा र आचरणमा अन्तरविरोध देखिन थालेको छ, हाम्रा विचारहरू स्वार्थकेन्द्रीत हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘भनाइ र गराईको खाडल कसरी पुर्ने ? व्यवहार र आचरणमा विचलनका संकेतहरु देखिएका छन्, पार्टीका बैठक, निर्वाचन र जनपरिचालनका कार्यक्रममा त्यस्ता अनुभूत गरेका छौं ।’

श्रम, उत्पादन र सांस्कृतिक रुपान्तरणलाई पार्टीले अंगिकार गरेको र कम्युनिष्ट पार्टीले चाल्नुपने विचार, रणनीति र कार्यनीतिको बारेमा आठौं महाधिवेशनले दिशानिर्देश गरेको अध्यक्ष दाहालको भनाइ छ । निर्वाचनपछि हुने विशेष महाधिवेशनबाट त्यस्ता दिशानिर्देशलाई थप परिमार्जन गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले नयाँ कार्यक्रमलाई दृष्टिगत गर्दै नीति, योजना र कार्यक्रमलाई आत्मसाथ गर्न प्रतिष्ठानका पदाधिकारीहरूलाई आग्रह गरेको छ । निर्वाचित हुने पदाधिकारीहरूले पोष्टबहादुर बोगटीका योगदानलाई अगाडि बढाउने विषयको औचित्य सिद्ध गर्न उहाँले आग्रह गर्नुभयो ।

नेता बोगटीले सरलता र पारदर्शिताको जीवन जिएको बताउँदै उहाँले अप्ठ्यारो ठाउँमा जाने हुटहुटी र पार्टीका नेताभित्र देखिएका अन्तरविरोधलाई सहजै सहजीकरण गर्नसक्ने क्षमताको आफू प्रशंसक भएको उहाँले बताउनुभयो ।