१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जनतामा पार्टीप्रतिको भरोसा टुटेको छैन, नेताहरूमा खुट्टा तानातान छ : अध्यक्ष दाहाल


195
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा माओवादी नेतृत्वप्रतिको भरोसा नटुटेको बताउनुभएको छ ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति अघात आस्था र विश्वास रहेको बताउनुभयो ।

नेताहरूको एउटा पंक्तिमा नीति, नेतृत्व, विचार र व्यवहारप्रतिको विश्वास धर्मराएको भन्दै अध्यक्ष दाहालले नेता एकढिक्का भएर गएको अवस्थामा अहिले पनि जुरुक्कै उठ्ने अवस्थामा रहेको बताउनुभयो । अहिले आफ्नो सबैभन्दा ठूलो चुनौति नेताहरुलाई मिलाएर लैजान भएको उहाँको भनाइ छ ।

नेताहरुमा मात्र मिलाएर एकढिक्का भएर लगेको अवस्थामा जनतामा दुःख गर्नुनपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

‘अन्य पार्टीका हजारौं बुद्धिजिवी, नेता तथा कार्यकर्ताहरु माओवादी प्रवेश गरिरहेका छन्,’ तराईको सन्दर्भ कोट्याउँदै उहाँले भन्नुभयो, ‘तर, हाम्रै पार्टीका नेताहरु एकले अर्काको खुट्टा तानातान गरिरहेका छन्, नेताहरूकै लागि छानबिन समिति बनाउनुपर्ने अवस्था आएको छ ।’

अध्यक्ष दाहालले अहिलेको सन्दर्भमा पोस्टबहादुर बोगटीजस्तो विचार र व्यवहार दुवैमा निष्ठावान, इमान्दार, सरल, मिलनसार हुन आवश्यक रहेको बताउनुभयो ।