१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा


104
Shares

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा बसेका छन् ।

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले धर्ना दिन सुरु गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मालगायत धर्नामा बसेका हुन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्तर्गत आजदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् । १ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको हो । प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने सर्त मधेस सरकारको छ ।