१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


नयाँ हिमालहरु आरोहणका लागि खुला गर्ने सरकारको तयारी


26
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताउनुभएको छ ।

आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।

उहाँले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानून तत्काल निराकरण गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष नभई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरु प्राकृतिक मनोरम दृश्य अवलोकनकालागि बढी आकर्षित भएर आउने गरेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, शाहसीक खेल र संस्कृति नै रहेको जिकिर गर्द यी क्षेत्रको प्रवद्र्धनमा जोड दिइने उल्लेख गर्नुभयो ।