
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।
असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि यसअघि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा दिएका थिए । तर त्यो सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्ये ९ जना खेलाडी पनि छन् । प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए । जसमध्ये सुमन लामा विदेश गइसकेका छन् ।
यसअघि अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन र तेजको मात्र नाम समावेश छ । अलमुताइरी बिरामी बिदामा रहेको भन्दै एन्फाले हुमागाईँलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्