२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिन्धुलीमा नयाँ राजमार्गले पर्यटक बढाउँदै


2.405k
Shares

सिन्धुली । नयाँ राजमार्ग र सिन्धुलीगढी पर्यटक भित्र्याउने माध्यमको रुपमा विकास भएपछि सिन्धुली पर्यटकीय गन्तव्यको रुपमा विकास भएर गएको छ ।

नेपालको मध्य तराई र मधेशका जिल्लाहरुमा गर्मीकोे प्रकोप बढेसँगै पर्यटकीय वीपी राजमार्ग र सिन्धुलीगढीमा भने पर्यटकको चहलपहल बढ्न थालेकाे हाे । सिन्धुली जिल्लाको लामो भू–भाग समेटिएर निर्माण भएको वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग पर्यटकीय सडक बनेका कारणले सिन्धुली घुम्न आउनेहरुको संख्या दैनिक रुपमा बढेर गएको सुनकोशी गाउपालिका–७ मझुवाका वडाध्यक्ष लोकबहादुर कार्कीले बताउनुभयाे ।

सिन्धुली जिल्लामा निर्माण सम्पन्न भएका राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा स्थापना गरिएका पर्यटक लक्षित होटल रिसोर्टमा तराई र मधेशका मानिसहरु रमाउने खाले वातावरण भएकाले गर्मीयाममा वीपी राजमार्गमा घुम्न आउने आन्तरिक पर्यटकहरु बढदै गएका हुन् ।

पूर्वपश्चिम महेन्द्रराजमार्गस्थित महोतरीको बर्दिबासबाट ३७ किलोमिटरको दूरीमा सिन्धुलीमाडी र सिन्धुलीमाडीबाट वीपी राजमार्ग र आसपासका मनमोहक दृश्यहरु अवलोकन गर्दै ढुङग्रे भन्ज्याङ, सिन्धुलीगढी र खनियाखर्क, खुर्कोट पुगिने भएकाले तराई र भारतको बिहार क्षेत्रका पर्यटकहरु समेत वीपी राजमार्गको यात्रामा आउने गरेका मन्जरी रिसोर्ट ढुङग्रेभन्ज्याङगका संचालक अमृत श्रेष्ठको भनाइ छ ।

तराई र मधेशमा अत्यधिक गर्मी भएको समयमा सिन्धुलीको ढुङग्रेभन्ज्याङ, सिन्धुलीगढी र खनियाखर्कमा चिसो मौसममा हिमाली क्षेत्र,महाभारत पहाड लगायतका क्षेत्रहरु अवलोकन गर्न सकिने भएकाले वीपी राजमार्ग मध्य तराई र मधेशका बासीन्दाहरुको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

महोतरी जिल्लाको बर्दिबास हुँदै सिन्धुलीमाडी हुँदै वीपी राजमार्गबाट सिन्धुलीगढी, खनियाखर्क र खुर्कोट सम्म आवागमन गर्दा तराईका फाटहरु, चुरे पहाड, भित्री तराई, महाभारत पहाडका आकर्षक दृश्य,ऐतिहासिक सिन्धुलीगढी,सिन्धुलीको जुनार बजार र सुनकोशी नदी समेतको अवलोक गरी मनोरञ्जन लिन पाउने चेतना भिलेज रिसोर्ट खनियाखर्कका संचालक यादव हुमागाईको तर्क छ ।

पछिल्लो समयमा सिन्धुलीको वीपी राजमार्ग र यस आसपासका क्षेत्रमा तराई मधश र भातको बिहार लगाएतका विभिन्न क्षेत्रहरुबाट दैनिक जसो ५ सयको हाराहारीमा पर्यटकहरुको आवागमन कमलामाई नगरपालिकाका सिन्धुलीगढीको सुरक्षामा खटिएका ईन्द्र गौतमले बताउनुभएकाे छ ।

मध्य तराई हुँदै काठमाडौं जोड्ने वीपी राजमार्ग र पूर्वी नेपालसँग सहजै जोड्ने मध्यपहाडी लोकमार्गले सिन्धुलीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ । वीपी राजमार्ग र मध्यपहाडी राजमार्गका कारण आवतजावतमा सहज हुँदै गएपछि सिन्धुलीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

गर्मीको सीजनमा पर्यटकको आगमन सुरु भएदेखि नै जिल्लाका होटल व्यवसायी पर्यटकको स्वागतमा जुट्दै आएका छन् । प्राकृतिक सुन्दरता र मनोरम दृष्यको अवलोकन गर्न सिन्धुलीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको जिल्लाका होटल व्यवसायीहरु बताउँछन् ।

तराईको गर्मी र चिसो छल्न सिन्धुली आउनेको उत्तिकै भिड लाग्ने गरेको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशत बढी पर्यटक आएको होटल व्यवसायी संघ सिन्धुलीका महासचिव सीताराम पहाडीले बताउनुभयाे ।

सिन्धुलीगढीमा भारत तथा चीन र जापानबाट विदेशी पर्यटक आउनुका साथै राजधानी काठमाडौं र तराई तथा पूर्वी जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । साथै जिल्लाको ऐतिहासिक स्थल सिन्धुलीगढी, गढीदरबार, जुनार बगैंचा पुराना कलाकृति, ऐतिहासिक मठमन्दिरदेखि प्राकृतिक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेका छन ।