१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा सामुदायिक वनले आर्थिक वृद्धि गर्दै


91
Shares

सिन्धुली । सिन्धुलीमा विगत एक दशक अघिसम्म उजाड देखिएका चुरे र महाभारत पहाडका डाँडापाखाहरु अहिले हरिया घना जंगलमा परिणत भएपछि वतावरण सन्तुलनमा सहयोग पुगेको छ ।

विगतमा खडेरी र डढेलोका कारणले उजाड बनेका वन जंगलहरु फेरी पुरानै अवस्थामा फर्किपछि उपभोक्ताहरुलाई घाँस दाउराको समस्या हुन छाडेको छ । जसले गर्दा पानीकाे मुहान समेत बढेर गएको छ ।

स्थानीय उपभोक्ताहरु कै स्वामित्वमा रहेका सामुदायिक वनलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उदेश्यका साथ सिन्धुली जिल्लाका सामुदायिक वन समूहरु बेलाबेलामा सामूहिक छलफलमा जुट्ने गरेका छन् ।

सरकारी स्वामित्वमा रहेको वन तीब्र रुपमा विनास हुन थालेपछि सरकारले स्थानीय उपभोक्तलाई नै वन संरक्षणमा सहभागी गराउने उद्देश्यले सामुदायिक वनको अवधारण ल्याएपछि उपभोक्ताहरु पनि यसरी सक्रिय हुन थालेका हुन् । गाउँमा सामुदायिक वन गठन भएपछि घाँसदाउरा लिन घण्टौं भौतारिनु पर्ने बाध्यताबाट मुक्ति मिलेको बसन्तपुर सामुदायिक वन समूहका उपभोक्ता सीताराम राउतले बताउनुभयाे ।

सिन्धुलीमा ३ सय ८५ कोे संख्यामा सामुदायिक वन गठन भएपछि हजारौं उपभोक्ताहरु त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सामुदायिक वनका उपभोक्ताहरु आफ्नो वनमा समय समयमा वनका अनावस्यक बोटविरुवा काटछाट गर्दछन् र त्यसैबाट उपभोक्ताहरुलाई आवस्यक काठ दाउरा समेत आउछ ।

डिभिजन वन कार्यालय सिन्धुलीका अधिकृत हेम थापाका अनुसार उपभोक्ता समिति गठन भएपछि स्थानीय उपभोक्ताहरुलाई घाँसदाउरा मात्र नभएर घर फर्निचर बनाउन आवस्यक परेको काठ पाउनका लागि पनि सजिलो भएको छ ।सामुदायिक वन समूहरुले बढी भएको काठदाउरा बेचेर सामुदायिक वनकाे आयआर्जनमा समेत लागेका छन् ।

सिन्धुली जिल्ला भित्रकै कतिपय सामुदायिक वन समितिहरुले त स्थानीय विकासका लागि महत्वपूर्ण कार्य समेत गर्दै आएका छन् । काठदाउराको बिक्रीबाट आम्दानी भएको सामुदायिक वन समितिको कोषको रकमबाट ग्रामीण सडकहरु निर्माण समेत गरिएका छन् ।

जिल्लाका कतिपय सामुदायिक वन समूहले आफ्नो आम्दानीबाट कतिपय स्थानहरुमो भौतिक पूर्वाधार विकासमा सघाउ पुर्याउदै आएका छन् । आफ्नो क्षेत्रमा खानेपानीको समस्या समाधान गर्नका लागि आफ्नै श्रोतले खानेपानी योजना निर्माणका कामहरु समेत संचालन गर्दै आएका छन् ।