
काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ ।
योसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।
आईओसीले मंगलबार नेपाल अयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलमा लिटरमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसा घटेको छ । यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । त्यतिबेला डिजेलमा १२ रुपैयाँ ४५ पैसा र पेट्रोलमा १६ रुपैयाँ ८० पैसा घटेको थियो ।
यस्तै, साउन १ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यतिबेला पनि पेट्रोलमा लिटरमा १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९३ डलर हाराहारीमा रहेको छ । यो मूल्य अझै घट्ने अनुमान छ । दुई महिनाअघिसम्म प्रतिब्यारेल १२० डलर हाराहारीमा पुगेको थियो । भारतबाट लगातार तेस्रोपटक मूल्य घटेर आउँदा पनि निगमले भने संस्थालाई अझै घाटा रहनुका साथै आइओसीलाई तिर्नुपर्ने बक्यौता रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्