४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


संरक्षणको पर्खाइमा तीनधारा संस्कृत पाठशाला


65
Shares

काठमाडौं । राजनीतिक परिवर्तनको मुख्य आधार मानिएको तीनधारा संस्कृत पाठशाला अहिले संरक्षणको पर्खाईमा छ । २०६२/०६३ को आन्दोलन अघि निकै आर्कषणमा रहेको संस्कृत पाठशालाको छात्राबास राजनीतिक दाउपेचका कारण ओझेलमा पर्दै गएको छ ।

कुनै सयमा काठमाडौंको जमलस्थित तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थीको निकै चाम थियो । संस्कृत विश्वविद्यालय अन्तरगतमा रहेको यो छात्राबासमा बस्नका लागि विद्यार्थीहरुबीच ठूलै प्रतिष्पर्धा हुने गरेको थियो । तर २०६२/०६३ को आन्दोलनको असर छात्रावासमा पर्‍यो । आन्दोलनपछि छात्राबास खान बस्न तथा राजनीतिका लागि विद्यार्थीको प्राथमिकतामा प¥यो । त्यसपछि छात्राबास खाली गराइएको थियो । त्यसयता छात्रावासमा पहिलाको जस्तो आर्कषण घट्न थाल्यो ।

हाल १ सय ५ जनाको कोटा रहेको छात्राबासमा ७३ जना विद्यार्थी रहेका छन् । संस्कृत विषय अध्ययन गर्ने विद्यार्थी एक विषयमा मात्र पनि अनुत्तीर्ण भएपछि छात्रबास बस्न नपाउने नियम भएसँगै बेला बेलामा छात्राबास खाली हुने गरेको छ । पछिल्लो समय पूर्वाधार र सुविधा आसै उपलब्ध नहुने र निजी तथा सरकारी होस्टलको प्रभाव बढ्दै गएकाले पनि तीनधारा छात्राावासको आकर्षण घटेको तीनधारा संस्कृत पाठशालाका सुपरिवेक्षक डा. प्रकाश ढकाल बताउनुहुन्छ ।

१९४२ सालमा खुलेको तीनधारा पाठशालाकाको भौतिक अवस्था पछिल्लो समय जिर्ण हुँदै गएको छ । तर विश्वविद्यालयले बेलाबेलामा गरेको मर्मत पर्याप्त नहुँदा राज्यले त्यसतर्फ खासै चासो देखाएको छैन । जीर्ण भौतिक संरचनामा बसेर अध्ययन गर्न असहज भएको विद्यार्थीहरु गुनासो गर्छन् ।

१०४ वर्षे राणा शासनविरुद्ध आन्दोलनको बिजारोपण यहि पाठशालाबाट भएको थियो । इतिहास, भूगोल, सामाजिकलगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै विद्यार्थीहरुले राणा शासकहरु विरुद्ध आन्दोलन सुरु गरेका थिए । जयन्तु संस्कृतम्का नामले चिनिने यही आन्दोलन त्यसबेला राजनीतिक परिवर्तनको मुख्य आधार बनेको थियो । त्यसबेला देशभर रहेका २ सय ३३ पाठशालाबाट प्रतिनिधिहरु चुनिएर तीनधारा पाठशालामा आउनेहरुले छात्र कार्य संघ चलाउने गर्दथे । चुनिएर आउनेले संघ चलाउने भएकाले संघ संसद्को भूमिकामा थियो । त्यस्तै, यहि पाठशालमामा प्रशिक्षित विद्यार्थीहरु मुुलुकका संसदीय र सरकारको जस्तै अभ्यास पनि गर्थे । विद्यार्थीहरुमध्ये कतिपयले प्रतिपक्षीको भूमिका निर्वाह गर्थे भने केहीले सरकारको ।

प्रजातान्त्रिक पद्धतिको सूत्रपात मानिएको तीनधारा संस्कृत पाठशालाका आफैंमा एउटा इतिहास हो । यो पाठशाला प्रजातन्त्र, पद्धति र संस्कार हो ।