२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

कृषि सामाग्री कम्पनीको गेटमै किसानले गरे नाराबाजी

78
Shares

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् ।

महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको भन्दै किसानहरुले कृषि सामाग्री कम्पनीको गेटमै नाराबाजी र ताला बन्दी गर्दै आएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्लामा अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा केही मात्रा मल आएको भनिएता पनि सोही मल पनि सहज रुपमा किसानहरुलाई बिक्री वितरण गर्न सकिएको छैन् ।

सिन्धुली जिल्लाका किसानहरुले यस वर्ष फागुन महिना यता रासायनिक मल पाउन नसक्दा उनीहरुले लगाएको मकै र धान बाली खेर गएको भिमानका किसान रोम खडकाले बताउनुभयाे । सिन्धुलीमा मलको हाहाकार भएको अवस्थामा केही मात्रामा मात्र मल आएपछि जिल्ला प्रशासन कार्यालयले भने वडाको सिफारिसमा मात्र सहकारी मार्फत मल वितरण गर्ने नियम लगाएको छ ।

किसानहरुले भने सरकारले किसानले भने जति मल दिन नसकेको र मल वितरण गर्ने प्रक्रिया अत्यन्त झन्झटिलो बनाएको भन्दै सदरमुकाम सिन्धुलीमाडीमा विरोध र नाराबाजी गर्दै आएका छन् । धान र मकै खेतीका लागि उर्वराक्षेत्र मानिने सिन्धुली जिल्लाका किसानहरुले महोत्तरी जिल्लाको बर्दिबास र सर्लाहीको लालबन्दी लगाएतका स्थानहरुबाट मल किनेर ल्याउदा सुरक्षाकर्मीहरुले जफत गर्ने गरेको सिन्धुली डाडीका किसान कृष्ण गौतमले बताउनुभयाे ।

मल किसानहरुको विरोध र आन्दोलनका कारण सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा स्थानीय प्रशासनले दिनहुँ सुरक्षा तैनाथी गराईरहनु परेको छ । यता लामो समयपछि केही मात्रामा मात्र युरिया मल आएपछि युरिया मल किसानबाट जफत हुने डरले कडा सुरक्षाकाबीच कृषि सामाग्री कम्पनी सिन्धुलीमा गोदाम गरिएको कृषि सामाग्री कम्पनीका प्रमुख नवराज महतले बताउनुभयाे ।

किसानहरुले कम्पनीबाट सिधै मल पाउनु पर्ने भन्दै गेटमा पुगेपछि मल जफत हुने डरले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले सुरक्षा दिएर मल गोदाम गरिएको छ । मल सहकारी मार्फत मात्रै किसानले लैजान सक्ने भन्दै कृषि सामाग्रीले किसानलाई मल नदिएको किसानहरुको गुनासो छ।

युरिया मल कृषि सामाग्री कम्पनीमा १६ हजार ९ सय ४० रुपैयाँ प्रतिमेट्रिकटन पर्ने र सहकारी मार्फत किसानहरुले ढुवानी खर्च र थप प्रतिबोरा ५० थपिएर झनै महँगो पर्ने स्थानीय किसान उद्धव आचार्यले बताउनुभयाे ।