
बैतडी । बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको हो । जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको उहाँले बताउनुभयो ।
पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली घटनास्थल तर्फ पुग्दैछ । उद्धार टोली आज बेलुकासम्म आइपुग्ने र त्यो बेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्दैछ ।
पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा चितुवा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्