
काठमाडौं, जेठ १० । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको चार महिना भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट ल्याइएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको थियो ।
मुलुकलाई लकडाउन अर्थात् बन्दा बन्दीमा राखेकै पनि दुई महिना पुगेको छ । बन्दाबन्दीका कारण जनजीवन कहालिलाग्दो बन्न थालिसकेको छ भने अर्थतन्त्र अँध्यारो सुरुङमा छिर्दैछ । नागरिक अत्तालिसकेका छन् ।
यो चार महिनामा मुलुकमा तीन जना व्यक्तिले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाले मृत्युको मुखमा पुर्याएकोमा एक महिलासहित तीन जना हुन् ।
चार महिनाको यस अवधिमा ५ सय ४८ जनामा संक्रमणको पुष्टि भएको छ । सरकारले बल्ल साढे ४२ हजार व्यक्तिको पिसिआर परीक्षण गर्न सकेको छ ।
भरपर्दो नमानिने आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७० जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
दुई महिनापछि २१ चैतमा नेपालमा पहिलो पटक स्थानीयबासीमा देखिएको कोरोना संक्रमण त्यसयता तीब्र गतिमा फैलँदो छ । कैलालीकी ३४ वर्षीया स्थानीय महिलामा उक्त संक्रमण देखिएको थियो । शुरुमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकामा मात्र देखिएको थियो । तर पछि उनीहरुले परिवार हुँदै स्थानीय तहमा संक्रमण फैलन सघाएका थिए ।
शुरुमा चीन, फ्रान्स, बेल्जियम, यूएई, कतारबाट आएकामा संक्रमण देखिएको भएपनि क्रमशः भारतबाट आएकाहरुमा बढी संक्रमण देखिन थाल्यो । र समुदायस्तरमा फैलन मद्दत पुग्यो ।
जेठ ३ मा कोराना संक्रमितको पहिलो मृत्यु भयो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिलाको श्वासप्रश्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमणले भएको दोस्रो मृत्यु भने बाँकेका एक युवा थिए । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो । ४ गते मृत्यु भएका उनी ३० गते भारतबाट नेपाल आएका नरैनापुर गाउँपालिकाका बासिन्दा थिए ।
तेस्रो व्यक्ति गुल्मीका ४१ वर्षीय पुरुष हुन् । उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो । उनी जण्डिसका गम्भीर विरामी थिए । गुल्मी मदाने गाउँपालिका ६ निवासी उनी गुल्मीमा एक आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत थिए ।
स्वास्थ्य सामग्रीकै चरम अभाव, खरिदमा भ्रष्टाचार !
कोरोनाले चारैतिरबाट घेरिसक्दा पनि सरकारले परीक्षण औजारसम्म पनि उपलब्ध गराउन सकेको छैन । देशमै कोरोनाको संक्रमित फेला परेको दुई महिनासम्म पनि सरकारले स्वास्थ्य सामग्री किन्न हतार गरेन ।
जब संकटले घेर्यो सारा प्रक्रिया निलम्बन गर्दै आफूनिकटका व्यवसायीलाई औषधि खरिदको ठेक्का दियो । ४८ गुणासम्म महँगोमा सरकारले दिएको ठेक्कामा पनि काम गर्न नसकेपछि ओम्नी इन्टरनेशनललाई दिइएको कामको जिम्मेवारी सरकारले नै तोड्यो । उल्टै सामान पनि गुणस्तरहीन दिएको आरोप सरकारले लगायो ।
महँगोमा सामान मगाएकोमा चर्को आलोचना भएपछि ओम्नीको ठेक्का तोड्दै सरकारले डेढ महिनाभन्दा अगाडी नेपाली सेनालाई सामान खरिदको जिम्मा दियो । तर यो बीचमा पनि सेनाले सामान ल्याउन सकेको छैन ।
परिणाम भारतबाट हजारौंको संख्यामा मानिसहरु नेपाल भित्रिरहेका छन् । सरकार परीक्षण सामग्री उपलब्ध गराउनै सकिरहेको छैन । आरडीटी परीक्षण भरपर्दो देखिएको छैन ।
सत्तारुढ दलमा सत्ता छिनाझप्टी र अरुको दल फुटाउने सरकारको चाह
यही बेला सत्तारुढ दल नेकपामा बढेको सत्ताको बेमौसमी विवादले सरकारको प्राथमिकता नै भड्कियो । सरकार दल फुटाउने खेला संलग्न रह्यो भने संवैधानिक परिषदमा विपक्षीलाई निषेध गर्ने अध्यादेश ल्याउँदा चौतर्फी आलोचना खेप्न बाध्य भयो ।
परिणाम दुबै अध्यादेश फिर्ता त लियो तर प्रधानमन्त्री केपी ओलीको कुर्सी नै हल्लिने अवस्था आयो । पछि चिनियाँ संस्थापनको सक्रिय दौडधूपमा प्रधानमन्त्री ओलीले आफ्नो कर्सीमा लागेको कालो संकट अन्त्य गराउन सफल भए ।
भारतले सृजना गरेको सीमा विवाद र नक्शा प्रकरण
यही बेला भारतसँगको सीमा विवादले अर्को रुप ग्रहण गर्दा सरकार अर्कैतिर अल्मलिन पुग्यो । नेपालको लिपुलेक हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल भारतबीच अहिले सीमाका विषयमा नक्शा विवाद बल्झिएको छ ।
भारतले अतिक्रमण गरेर आफ्नो नक्शामा पारेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागसमेत समेटेर नेपालले पनि आफ्नो नक्शा अद्यावधिक गर्दै सावैजनिक गरेको छ ।
विश्वभर महाब्याधीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने समयमा सरकारको ध्यान अनेकतिर भड्किएको छ ।
प्रतिक्रिया दिनुहोस्